हेटौंडा । चित्लाङ–चन्द्रागिरि–थानकोट सडक खण्डमा आगामी साउन २० गतेसम्म सार्वजनिक यातायात सञ्चालनमा रोक लगाइएको छ ।
सडक मर्मत जारी रहेकाले साउन २० गतेसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म यातायात अवरुद्ध हुने सडक डिभिजन कार्यालय काठमाडौंका डिभिजन प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिएका छन् ।वर्षातको समयमा सडक मर्मतको काम भइरहेकाले सार्वजनिक यातायात सञ्चा गर्दा जोखिम बढ्ने भन्दै साउन २० सम्म आवागमन बन्द गरिएको भण्डारीले बताए ।
सडक डिभिजन काठमाडौंले चित्लाङ–चन्द्रागिरि–थानकोट खण्डको सेतो पहरो क्षेत्रमा उच्च ग्रेड कम गर्न र सडकको चौडाइ कम भएको ठाउँमा ‘ब्याक कटिङ’ तथा ‘ग्रेड डाउन’ गर्ने काम गरिरहेको छ ।
कडा चट्टानका कारण ‘ब्याक कटिङ’ कार्यमा कठिनाइ भएको डिभिजन प्रमुख भण्डारीले बताए । धेरै घुम्ती, साँघुरो मोड, ओरालो उकालो सडकका कारण सेतो पहरो यस खण्डको सबैभन्दा जोखिम क्षेत्र हो । यहाँ अत्याधिक मात्रामा सवारी साधन दुर्घटना हुने गरेका छन् ।
यसैगरी, अविरल वर्षाका कारण पहिरो जाँदा हेटौंडा–काठमाडौं जोड्ने छोटो मार्गहरु निरन्तर अवरुद्ध हुने गरेका छन् । हेटौंडा–कुलेखानी–सिस्नेरी मार्ग शनिबार अपरान्ह ४ बजेदेखि मात्र सञ्चालनमा आएको थियो ।
प्रहरीले हेटौंडा–काठमाडौं यात्रा गर्नका लागि छोटो मार्ग प्रयोग गर्नेहरुलाई भीमफेदी–कुलेखानी–फाखेल र कुलेखानी–मातातीर्थको सडक प्रयोग गर्न आग्रह गरेको छ ।