काठमाडौं - साहित्यकार डा. चित्रकुमार माबोको कथा सङ्ग्रह डोलीभर्ना सार्वजनिक गरिएको छ। काठमाडौं, कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबार एक कार्यक्रमका बिच कथा सङ्ग्रह सार्वजनिक गरिएको हो।
प्रतिनिधिसभा सदस्य तथा नेकपा एमालेका सचिव योगेशकुमार भट्टराई, नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य खेलप्रसाद बुढाक्षेत्रीलगायतको संयुक्त उपस्थितिमा कथा सङ्ग्रह डोलीभर्ना सार्वजनिक गरिएको हो । ताप्लेजुङ जिल्ला सिरिजङ्घा गाउँपालिकाका उपाध्यक्षसमेत रहेका साहित्यकार माबोको डोलीभर्ना प्रथम कथासङ्ग्रह हो।
सार्वजनिक कथा सङ्ग्रहले सामाजिक सद्भाव, समसामयिक विषय र लिम्बू जातिको संस्कार संस्कृति संरक्षण तथा उजागर गर्नमा टेवा पुर्याउने गरि लेखकले मिहेनत गरेकाे नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी र साहित्यकार प्रनिका कोयूको भनाइ रहेको छ । पुस्तकमाथि टिप्पणी गर्दै सुवेदी र कोयूले लिम्बू जातिको पवित्र मुन्धुम, संस्कार र संस्कृतिलाई लेखकले प्राथमिकतामा राख्नु अति सुन्दर पक्ष रहेको बताएका थिए ।
नेपाली साहित्यमा विद्यावारिधि गरेका माबाेले पूर्वी पहाडको जनजीवन, सामाजिक सद्भाव, लिम्बू जातिको मुन्धुमी संस्कृति तथा समसामयिक विषय समेटेर कथा संग्रह तयार गरेका हुन् । उनले आफ्नाे कृतिमा १५ वटा कथा समावेश गरेका छन् ।
डोलीभर्ना कथासङ्ग्रहलाई साङ्ग्रिला बुक्सले बजारमा ल्याएको पनि कार्यक्रममा जानकारी दिइएको थियो ।