काठमाडौं- एक महिने रक्तदान अभियान अन्तर्गत राष्ट्रिय युवा सङ्घ नेपाल, अन्तर जिल्ला विशेष प्रदेश कमिटीद्वारा आयोजित रक्तदान कार्यक्रम बुधवार सुकेधारामा सम्पन्न भएको छ ।
प्रमुख अतिथि सङ्गठनका इन्चार्ज तथा पूर्व मन्त्री महेश बस्नेत, विशिष्ट अतिथि सङ्गठनका अध्यक्ष क्षितिज थेबे, उपाध्यक्षहरू कृष्णहरि केसी ,पुष्पराज श्रेष्ठ ,रमेश तिवारी, विशेष प्रदेशका इन्चार्ज डिल्ली लिङ्देन लगायत नेता तथा कार्यकर्ताको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
राष्ट्रिय युवा सङ्घ नेपालले निरन्तर रक्तदान कार्यक्रम आयोजना गरिरहेको र एक महिने अभियानकै क्रममा मङ्गलवार मात्र युवा सङ्घ बागमती प्रदेश कमिटीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।
रक्तदान कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै सङ्गठनका अध्यक्ष क्षितिज थेबेले समाज रूपान्तरणको अभियानमा युवा सङ्घ सदैव लाग्ने र विभिन्न रचनात्मक तथा सृजनात्मक माध्यम बाट युवा सङ्घ सधैँ अघि बढ्ने बताएका छन्। रक्तदान मात्र नभएर विभिन्न डङ्गका समाजमा प्रत्यक्ष प्रभाव पार्ने कार्यक्रमहरू निरन्तर रूपमा युवा सङ्घले ल्याउने समेत अध्यक्ष थेबेले बताएका छन् । युवा सङ्घले एक महिने वृक्षारोपण अभियान पनि देशभरि निरन्तर चलाइरहेको छ ।
रक्तदान कार्यक्रममा १३३ जना रक्तदाताहरूले रक्तदान गरेको र सबै रक्तदाताहरूलाई अन्तर जिल्ला विशेष प्रदेशले सम्मान गरेको आयोजक विशेष प्रदेशका अध्यक्ष सुजन घिमिरेले जानकारी दिएका छन्। यसअघि राष्ट्रिय युवा सङ्घ नेपाल बाग्मती प्रदेश कमिटीले पनि रक्तदान कार्यक्रम सम्पन्न गरेको थियो ।