स्थानीय विवाद निरूपण गर्दा मेलमिलापलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ :उपप्रमुख डङ्गोल

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८१० दिन अगाडि
स्थानीय विवाद निरूपण गर्दा मेलमिलापलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ :उपप्रमुख डङ्गोल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले स्थानीय सरकारको माध्यमबाट स्थानीय विवाद निरूपण गर्दा मेलमिलापलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएकी छिन् । 

आज काठमाडौँमा स्थानीय (वडा स्तरीय) विवाद र निरूपणका विषयमा अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रममा बोल्दै उपप्रमुख डङ्गोलले यस्तो बताएकी हुन् । उनले महानगरपालिकाले मेलमिलाप केन्द्रबाट स्थानीय विवाद टुङ्ग्याउँदा मेलमिलापलाई पहिलो प्राथमिकतामा राखेर विवाद निरूपण गरिरहेको जिकिर गरिन्।

उनले न्याय निरूपण गर्दा अक्षरमा के-के छन् भनेर हेर्ने मात्र नभई व्यवहारिक पक्षलाई हेरेर न्याय निरूपण गरिरहेको दाबी गरिन् । महानगरपालिकाका ३२ वटै वडामा मेलमिलाप केन्द्र सञ्चालनमा रहेको र यसले न्याय निरूपणलाई छिटो, छरितो बनाउनमा पनि महत्त्वपूर्ण भूमिका खेलेको बताइन् । एक वर्षमा केन्द्रको न्यायिक समितिबाट ७० प्रतिशत भन्दा धेरै मुद्दाको निरूपण गरेको बताइन् । ७० प्रतिशत भन्दा बढी निरूपण गरिरहँदा प्राथमिकतामा मेलमिलापलाई राखेको उपमेयर डङ्गोलको भनाइ छ ।

उपप्रमुख डङ्गोलले वडादेखि केन्द्रसम्म मेलमिलापबाट समग्रमा ६१ प्रतिशत मेलमिलाप गर्न सफल भएको बताइन् । उनले दिगो रूपमा विवादलाई निरूपण गर्नका लागि मेलमिलाप मात्रै एउटा विकल्प हुनसक्ने पनि बताइन् । उनले अर्को वर्ष ८० प्रतिशत भन्दा बढी मेलमिलापबाट विवाद टुङ्ग्याउने स्थितिसम्म पुग्ने दाबी गरिन् । वडा तहमा मेलमिलाप केन्द्रका माध्यमबाट ९० प्रतिशत भन्दा बढी विवाद समाधान गरिसकेको पनि बताइन् ।

उपप्रमुख डङ्गोलले न्यायिक समितिले ४३ हजार भन्दा बढी महानगरवासीलाई वडा-वडामा निःशुल्क कानुनी सहायता दिएको बताइन् । एक महिनामा ३२ सय करिब महानगरवासीले निःशुल्क कानुनी सहायता लिएको बताइन् । अबका मुद्दाहरू वडा तहबाटै ई।इजलासबाट तथ्याङ्क सङ्कलन गर्ने काम सुरु गर्ने पनि बताइन् ।