युवाहरुलाई स्वदेशमै रोजगारीका लागि राज्यले सीप र प्रोत्साहन दिनुपर्छ- अध्यक्ष थेबे

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८३७ दिन अगाडि
युवाहरुलाई स्वदेशमै रोजगारीका लागि राज्यले सीप र प्रोत्साहन दिनुपर्छ- अध्यक्ष थेबे

काठमाडौं - राष्ट्रिय युवा संघ नेपालले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ।  

सोमबार नयाँ बानेश्वरस्थित केन्द्रीय कार्यालयमा उक्त कार्यक्रमको आयोजना गरेको हो ।  सोही क्रममा राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेले अब पनि राजनीतिक स्थिरताको बाटोमा अगाडि बढेनौ भने देश विकास हुन नसक्ने बताए । उनले भने, ‘युवाहरुको सोचलाई लिएर राज्य अगाडि बढ्नुपर्छ । अब पनि हामीले राजनीतिक स्थिरताको बाटोमा अगाडि बढेनौ भने देश फेरि पनि सोचेको जस्तो विकासको बाटोमा अगाडि बढ्न सक्दैन् । अब राजनीतिक स्थिरताको लागि कुनै एक पार्टीले बहुमत ल्याउने अवस्थामा पुग्नुपर्छ ।’युवाहरु सकारात्मक सोच, सन्देश र जागरको साथ देश बनाउनको लागि अगाडि बढ्नुपर्ने पनि उनको भनाई छ । 

यसको साथै उनले नेपालमा रोजगारीको कमीले युवाहरु बाहिरिनु परेको भन्दै युवाहरुलाई रोक्नको लागि सीपको विकास गर्न तालिमहरुको व्यवस्था गर्नुपर्ने बताए । उनले भने, ‘दिगो विकासको क्रममा युवाहरुको विचारलाई पनि समेटेर जानुपर्छ । विश्वशान्ति स्थापना गर्नको लागि युवाहरु पनि लाग्नुपर्छ भनेर अन्तराष्ट्रिय युवा दिवसको सुरुवात भएको हो । नेपालमा रोजगारीको कमले गर्दा युवाहरु बाहिरिनु परेको छ । तत्काल व्यवस्थित रोजगार गर्न नसकेको कारणले पनि युवाहरु बाहिरिनु परेको हो । यसलाई रोक्नको लागि युवाहरु सीपको विकास गर्ने तालिमहरुको व्यवस्था गर्नुपर्छ ।’