एआईको प्रयोग गरेर चरित्र हत्या गरेको आरोपमा एक युवक पक्राउ, सचेत रहन प्रहरीको आग्रह

  • नेपाल विशेष
    -नेपाल विशेष
  • २२ दिन अगाडि
एआईको प्रयोग गरेर चरित्र हत्या गरेको आरोपमा एक युवक पक्राउ, सचेत रहन प्रहरीको आग्रह

काठमाडौं- आर्टिफिसियल इन्टिलिजेन्स (एआई) को प्रयोग गरेर विशिष्ट व्यक्ति (भीआईपी) हरूको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाजुराको खप्तड छेडेदह गाउँपालिका–५ स्थायी घर भएका रमेश बहादुर रावत रहेका छन् ।

२२ वर्षीय रावतमाथि एआईलगायतका प्रविधिहरूको दुरुपयोग गरेर भीआइपीहरूको चरित्रमा निर्मम आघात पुर्‍याएको आरोप लगाइएको छ । साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार रावतले अतिरञ्जित तवरबाट कपोकल्पित र भ्रामक विषयमा श्रव्यदृश्य सामाग्री तयार र प्रशारण गर्ने गरेका थिए ।

उनलाई प्रहरीले शुक्रबार सिन्धुपाल्चोकबाट पक्राउ गरेको थियो । उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरिएकोमा जिल्ला अदालत काठमाडौँबाट ५ दिन म्याद थप भई थप अनुसन्धान भइरहेको छ ।

ब्युरोले एआईलगायतको दुरुपयोग गरेर राजनीतिक नेतृत्वलगायतको चरित्र हत्या गर्ने क्रम बढेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । पछिल्लो समय सामाजिक सञ्जालमार्फत त्यस्ता एआईबाट निर्मित सामग्री प्रकाशन गर्ने गरेको पाइएको भन्दै ब्युरोले यस प्रकारको गतिविधिहरू नगर्न/नगराउन अनुरोध गरेको छ ।