ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) को निर्वाचनका लागि सागर पाण्डे नेतृत्वको व्यावसायिक एवं साझा प्यानलले आफ्ना एजेन्डाहरू सार्वजनिक गरेको छ ।
यहीँ भदौ १७ गते सम्पन्न हुन गइरहेको (टान) को निर्वाचनका लागि पाण्डे नेतृत्वको प्यानलले २२ बुँदे एजेन्डाहरू सार्वजनिक गरेको हो । सोही एजेन्डामा रहेर पाण्डे प्यानलका महासचिवका आकांक्षी सोनाम ग्याल्जेन सेर्पाले टानलाई राजनीतिबाट मुक्त गरेर संस्थागत हित र आम ट्रेकिङ व्यवसायी तथा पर्यटन क्षेत्रलाई नै सुधारका लागि आफू र आफ्नो प्यानल अघि सरेको बताएका छन् । पछिल्लो समय संघसंस्थाहरूमा राजनीतिको आडमा कुरा बढी काम कम गर्ने प्रवृत्ति बढेकाले त्यसलाई चिर्न पनि आफ्नो प्यानल अघि बढेको प्रष्ट पारे । पाण्डे नेतृत्वको प्यानले सार्वजनिक गरेका एजेन्डाहरूमा दान अक्षयकोषको स्थापना गरिनुका साथै पर्यटन व्यवसायमा कायम भ्याट छुटका निम्ति विशेष पहलकदमी गरिने एजेन्डा रहेको छ ।
साथै पाण्डे नेतृत्वको व्यावसायिक एवं साझा प्यानलले ट्रेकिङ कम्पनीमार्फत मात्र पदयात्रामा जाने बाध्यात्मक व्यवस्था मिलाइने समेत एजेन्डा छ । यसै गरी टिमको व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राखिने समेत एजेन्डामा उल्लेख गरिएको छ । यस्तै नियन्त्रित पदमार्गको अनुमति सहजीकरण गरिने, कर सम्बन्धी समस्या समाधान गरिनुका साथै पर्यटक सवारी साधन खरिदमा भन्सार छुटको व्यवस्थालाई पहल गरी कार्यान्वयन गराइने एजेन्डा रहेको छ । वैकल्पिक पदयात्रा मार्गको डीपीआर तयार गरिनेसमेत जनाइएको छ । साथै पदमार्गको प्रचार प्रसारलाई प्राथमिकता दिइने एजेन्डा छ ।यस्तै पाण्डे नेतृत्वको प्यानलले जलवायु परिवर्तनको एजेन्डालाई प्राथमिक रूपमा उठान गरिने जनाएको छ । पर्यटन ऐनलाई समय सापेक्ष बनाइनुका साथै एक्सपेरियन्सल टुरिजमको विकास गरिनेसमेत जनाएको छ । अन्तर्राष्ट्रिय स्तरका विभिन्न ट्रेनिङ कोर्सहरू सञ्चालन गरिने समेत एजेन्डा रहेको छ ।
नेपाल एयरलाइन्सको व्यवस्थापनलाई पुनर्संरचना गर्न पहल गरिने र एडभेन्चर ट्राभल ट्रेड एशोसिएसन ९एटीटीए० जस्ता संस्थाहरुसँग सहकार्य गर्ने समेत एजेन्डा सार्वजनिक गरेको छ । यस्तै पर्वतीय पर्यटनको विकासमा दातृ निकायसँग सहकार्य गरिने तथा पर्यटन सम्बद्ध अन्य संघ संस्थासँग सहकार्य गरिने जनाइएको छ । साथै पर्यटन विकासका लागि नेपाल सरकारका निकायहरूसँग सहकार्य गरिने एजेन्डामा उल्लेख गरिएको छ । कानुनी र फाइनान्सियल परामर्श केन्द्र स्थापना गरिने र पर्यटन बोर्डमा पर्यटन संघ संस्थाबाट प्रतिनिधित्व हुने व्यवस्था गरिने एजेन्डा छ ।साथै पाण्डे नेतृत्वको व्यावसायिक एवं साझा प्यानलले टानको विधान संशोधन गरिनुका साथै टान नेतृत्वका हाल सञ्चालनमा रहेका प्रभावकारी कार्यक्रमहरूलाई निरन्तरता दिइने एजेन्डाहरू सार्वजनिक गरेको छ ।