काठमाडौ -सानो कुरामा अत्यधिक र लामो समयसम्म सोच्नु नै ओभर थिङकिङ हो ।
कुनै कुराको निर्णय गर्दा वा केही कुराको मूल्याङ्कन गर्दा गहिरो सोच्नु स्वाभाविक हो । तर जब यो अवस्था तपाईँको दिमागमा रहिरहन्छ आफैँलाई अलग गर्न सक्नुहुन्न । यो हामी सबैको जीवनमा कुनै न कुनै बिन्दुमा हुन्छ । जीवनमा कैयौँ घटनाहरू अनुभव गर्छौँ, जसले चिन्ता वा तनाव गराउन सक्छ । तर केही मानिसहरू आफ्नो चिन्ताबाट मुक्त हुन सक्दैनन् ।
उनीहरू भविष्यको बारेमा चिन्तित हुन्छन् । सम्भावित घटनाहरूको बारेमा डरलाग्दो भविष्यवाणी गर्दै आफैसँग आफै डराउँछन् । यस्ता व्यक्ति आफ्नो बारेमा सुनेको कुनै नकारात्मक कुरा दिमागमा लिइरहन्छन् र सधैँ चिन्तित हुन्छन् । धेरै सोच्नु रोग होइन, नकारात्मक बानी हो । यसको प्रभावले मानसिक स्वास्थ्य जोखिम निम्त्याउन सक्छ । त्यति मात्र होइन, भावनात्मक र शारीरिक स्वास्थ्यलाई पनि असर गर्न सक्छ । दैनिकजसो धेरै सोच्ने बानीले चिन्ता, प्यानिक अट्याक र डिप्रेसन जस्ता मानसिक समस्याबाट ग्रस्त बनाउने चिकित्सकहरू बताउँछन् । अर्कोतर्फ, अत्यधिक सोचाइको कारण, निद्राको कमी, उच्च रक्तचाप र तनाव जस्ता समस्या देखा पर्छन् । तनावग्रस्त वा चिन्तित हुँदा कोही बिरामी नै हुन्छन् । किनकि तनावमा कोर्टिसोल नामक तनाव हार्मोन निस्कन्छ । तनावले शरीरमा कोर्टिसोल हार्मोनको रिलिज गर्छ ।
कोर्टिसोल हार्मोन बढेमा शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुनसक्छ । प्रतिरक्षा प्रणाली कमजोर हुने बित्तिकै ज्वरो तथा टाउको दुखाइ हुने र सङ्क्रमणले घेर्न सक्छ । हरेक समय जब दिमाग नकारात्मक विचारमा केन्द्रित हुन्छ, तब शरीरमा हार्मोनको सन्तुलन बिगार्न सक्छ । जसबाट रगतमा कोर्टिसोल बढ्छ । यो हार्मोनले शरीरमा उत्पादन हुने खुसीको हार्मोन ह्याप्पी हार्मोन पनि प्रभावित हुन्छ । जसले गर्दा मुड खराब भइरहन्छ । निराश, दुखी र उदासी भावनाले खुसी हुने हार्मोन कम उत्पादन हुन्छ । जो भविष्यमा डिप्रेसनको कारण बन्न सक्छ । धेरै सोचाइ र चिन्ताले मुटुको स्वास्थ्यलाई जोखिममा पार्न सक्छ ।
अति सोच्ने बानी बढ्दै गएपछि रगतमा एड्रेनालाइन हार्मोनको मात्रा बढ्न थाल्छ । एड्रेनालाइनले मुटुको दर र रक्तचाप बढाउँछ । एड्रेनालिनका कारण रगतमा ब्लड सुगरको समस्या बढ्ने जोखिम पनि हुनसक्छ । अत्यधिक सोचाइका कारण तनाव उत्पन्न भई पाचन प्रणाली पनि प्रभावित हुन्छ । तनावपूर्ण विचारले स्नायु प्रणालीलाई उत्तेजित पार्छ ।स्नायु प्रणाली उत्तेजित हुँदै गएपछि पाचन प्रणालीमा रक्तसञ्चार कम हुन्छ, जसले पाचननली खुम्चिन्छ । र, पाचनरसको उत्पादनलाई घटाइदिन्छ । जसकारण आन्द्रामा समस्या, इरिटेबल बाउल सिन्ड्रोम र ग्यास्ट्रिक, ग्यास र कब्जियत हुनसक्छ । आवश्यक भन्दा बढी सोच्नेहरूमा चिन्ता, डिप्रेसन र अन्य मानसिक समस्याबाट ग्रस्त हुने सम्भावना बढ्छ ।
किनभने एकै कुरालाई लिएर अत्यधिक सोच्ने क्रममा नकारात्मक भावनामा लगातार ध्यान केन्द्रित हुन्छ । जसले दिमागको सन्तुलनलाई बिगार्छ । यदि तपाईँ अति सोच्नुहुन्छ भने निद्रासँग जोडिएको समस्याको सामना हुनसक्छ ।किनकि मनमा अनेक भावना र विचारको द्वन्द्व मन शान्त हुँदैन । मनमा शान्त नहुँदा निद्रामा समस्या देखिनु हो । भावनालाई नियन्त्रण गरिएन भने निद्रा कम आउने र निद्रा लागिहाले पनि ब्युँझिने हुन्छ ।