काठमाडौँ -हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनका लागि सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
कोषले लाम व्यवस्थापन, स्वयंसेवक परिचालन, स्वास्थ्य शिविर एवं निःशुल्क पानी वितरणलगायत तयारी पूरा गरेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको हो । तीजका अवसरमा चारवटै सुरक्षा निकायले पशुपति क्षेत्रमा सुरक्षा दिने गरी व्यवस्था मिलाइएको छ । यस वर्षको हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने वर्तालु भक्तजनका लागि सहज बनाउन चार स्थानबाट लामको व्यवस्था गर्नेगरी तयारी भएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए।
कोटेश्वर–तीनकुने–सिनामंगल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगंगा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्नेगरी पहिलो लामको व्यवस्था गरिएको छ । यो मार्गबाट छिरेका भक्तजन पूर्वी ढोकाबाट बाहिरिने छन् । यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल आर्यघाट जाने वाग्मती नदीमाथिका दुई पुल पार गरेपछिको मध्यक्षेत्रमा राख्ने गरी व्यवस्था मिलाइएको छ ।
दोस्रो लाम मित्रपार्क क्षेत्रबाट प्रवेश गर्न पाउने गरी व्यवस्था गरिएको छ। यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल शंकराचार्य मठअघिको क्षेत्रमा राख्ने व्यवस्था गरिएको कोषका प्रवक्ता अधिकारीले जानकारी दिए । तेस्रो लाम गौशाला–पिंगलस्थान–पञ्चदेवल क्षेत्रबाट अघि बढ्ने व्यवस्था मिलाइएको छ । यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल बज्रघर अघिको भागमा राखिनेछ । चौथो लाम गुह्येश्वरी–उमाकुण्ड–कैलाश दक्षिण भाग हुँदै पशुपतिनाथ मन्दिरमा प्रवेश गर्नेछ । यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल गुरु मन्दिर अघिको खुला भागमा राखिनेछ । बाहिर चार लाम भएपनि मूल मन्दिरभित्र प्रवेश गरेपछि प्रत्येक ढोकाबाट प्रवेश गर्नेका लागि दुईदेखि तीनवटासम्म लामको व्यवस्था गरिएको कोषका प्रवक्ता अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार तीजका अवसरमा पशुपतिनाथ दर्शन गर्न आउने भक्तजनको लाम व्यवस्थापन गर्न कोषले अधिकृतस्तरका कर्मचारीलाई विशेष जिम्मेवारीसहित परिचालन गर्ने तयारी गरेको छ ।