नेपाली सिनेमामा लगानी फापेका निर्माता अर्जुन कार्की ‘स्वामी 

  • मनोज न्यौपाने
    -मनोज न्यौपाने
  • २६ दिन अगाडि
नेपाली सिनेमामा लगानी फापेका निर्माता अर्जुन कार्की ‘स्वामी 

काठमाडौँ - सिनेमाको मुटु भनेर स्क्रिप्टलाई मान्ने गरिन्छ । तर सिनेमा निर्माणका लागि पर्याप्त बजेट भएन भने न मुटुले राम्रोसँग काम गर्छ न त बाँकी अङ्गले नै ।

नेपाली चलचित्र बजारमा बजेटको विषयमा राम्रैसँग बहस चल्ने गरेको छ । सानो बजार, थोरै दर्शक अनि लगानी पनि थोरै । हुन त केही सिनेमाका पण्डितहरू छन् जो, सिनेमा भनेको आर्ट हो र यसलाई आर्टिष्टिक तरिकाबाट पस्कन सक्नेका लागि बजेट केही होइन भन्ने गर्छन्। 

नेपाली बजारमा पनि यस्ता केही उदाहरण छन् जुन सिनेमाहरू बजेट अभावमा दुःखले तयार पारिए र तिनीहरूले नै नेपाली चलचित्र उद्योगको ट्रेन्ड परिवर्तन गराए । चलचित्रको नायक हुनका लागि सुकिलोमुकिलो हुनु पर्छ भन्ने भाष्य परिवर्तन गराउन सफल भए। ती चलचित्र थिए, ‘लुट’, ‘कबड्डी’, ‘घाम पानी’, ‘पुरानो डुङ्गा’, ‘ मिस्टर झोले’ आदि...।

यिनै चलचित्रमा एउटा दह्रिलो खम्बा बनेर आफ्नो फिल्मी करियर बनाएका एक क्रिएटिभ सिनेमा निर्माता हुन् अर्जुन् कार्की ‘स्वामी’ । नेपाली सिनेमा बजार अझै पनि पूर्ण व्यावसायिक नभएको बहस चलिरहँदा त्यसमा निर्माताको भूमिका पनि ठुलो रहने गरेको छ । प्राविधिक ज्ञान र बजार विश्लेषण विना नै सिने बजारमा हुम्मिएका धेरै चलचित्र निर्माताहरू सहिद बनेका उदाहरण धेरै छन् । जो ज्ञानको अभावमा चलचित्र बजार प्रवेश गरे र एकाध बाहेक पुनः सिने नगरीमा लगानीका लागि फर्केर पनि आउन नसेकेका उदाहरण धेरै छन् ।

तर, अर्जुन कार्की यस्ता लगानीकर्ता हुन् जो आफैमा सिङ्गो सिनेमाका लागि एक्लो सिपाही हुन् ।

चलचित्र लुटबाट आफ्नो सिनेमाको करियर सुरुवात गरेका अर्जुनले कबड्डीमा प्रोड्युसरका रूपमा काम गरे । फोटोग्राफीमा रुचि राख्ने अर्जुनले केही वर्कसपमा सहभागी भएर स्व अध्ययनबाटै सिनेमा बुझेका रहेछन् । 

नेपाल विशेषसँग कुरा गर्दै अर्जुनले भने, ‘रुचि फोटोग्राफीमा थियो तर पछि सिनेमामा ध्यान बढ्यो । केही समय यतिकै काम गरेँ, पछि वर्कसप र स्वअध्ययनले सिनेमा बुझेर मेकिङमा आएको हुँ।’
खास गरेर चलचित्र लुटको टिम अर्जुनका साथी थिए । निश्चल बस्नेत, सौगात मल्ला, दयाहाङ राईसँगै बसेर पहिलो फिचर फिल्ममा अर्जुनले काम गर्ने मौका पाएका थिए । जहाँ उनले प्रोडक्सनमा ठुलो भूमिका निर्वाह गरे ।


अर्जुन पछि रामबाबु गुरुङसँग जोडिए । अनि बनेका थियो ‘कबड्डी’ । खासमा कबड्डीमा रहेको कथामा बन्न लागेको सिनेमाको नाम ‘भिजिटिङ कार्ड’ थियो रे तर एक वर्षसम्मको कडा परिश्रम पछि तयार भएको थियो ‘कबड्डी’को स्क्रिप्ट र शीर्षक। चलचित्रको ड्राफ्ट रामबाबुले तयार गरे पनि धेरै जनाको सल्लाहमा रहेर १ वर्ष लामो समय लगाएर उक्त स्क्रिप्टलाई नयाँ रूप  दिइएको थियो । 
यद्यपि सिनेमामा लगानी गर्ने मान्छेको अभाव देखिएपछि अर्जुन स्वयं अग्रसर भएर लगानी गरेका थिए । चलचित्रका लागि अर्जुन मात्र नभएर सबैले आ–आफ्नो खाजा खर्चसमेत सिनेमामै लगाएको अर्जुन सम्झन्छन् ।

उनी भन्छन् – ‘कबड्डी’ निर्माणको तयारी भइरहँदा बजेटको अभावले ‘सबैले आफ्नो-आफ्नो ट्यालेन्टको सदुपयोग गर्ने सल्लाहका साथ हामी अघि बढेका थियौँ,’ उनी थप्छन्, ‘ त्यो समय मैले प्रोडक्सन हेरेँ, फोटो खिच्ने, भिडियो एडिटिङ गर्ने काम पनि गरेँ । मैले मेरो सीप राम्रैसँग प्रयोग गरेँ ।’

उनी सुनाउँछन्,‘त्यो समय हामीलाई तयार भएको कथालाई कसरी स्क्रिप्टमा लैजाने र स्क्रिनमा ढाल्ने भन्ने मात्र थियो । हामीले सामान्य क्यामेरा ‘फाइभ-डी डि-एसएलआर’ बाटै काम गरेका थियौँ ।

अर्जुन सम्झन्छन्,‘सुरुमा ट्रेलर सार्वजनिक गर्दा दर्शकले रुचाउँछन्, रुचाउँदैनन् भन्नेमा ठुलो डर थियो । यद्यपि दर्शकले रुचाए, सिनेमा सफल भयो।’

कबड्डीको सफलतापछि उनलाई लाग्यो, ‘सिनेमा उद्योगमा मैले प्राविधिक भएर मात्र हुँदैन । अब सिनेमाको सुरुबाट नै अग्रसर भएर सहभागी हुनु पर्छ । सिनेमा निर्माणका लागि पहिलो आवश्यकता बजेट हो र त्यसका लागि एक क्रिएटिभ प्रोड्युसर भएर काम गर्नु पर्छ भनेर म लगानीकर्ताका रूपमा विभिन्न चलचित्रहरूसँग जोडिन पुगेँ।’

हिजो मात्र होइन आज पनि अर्जुनलाई लाग्छ ‘सिनेमा उद्योगमा निर्माता जस्तो ठुलो भूमिका अरूको हुनै सक्दैन तर, उसमा ज्ञान चाहिन्छ, बजारलाई नियाल्न सक्ने खुबी चाहिन्छ र सिनेमाको स्क्रिप्ट, स्क्रिप्टले मागे अनुसारको कलाकारको छनौट, छायाङ्कनका लागि लोकेसनलगायतका हरेक पाटोमा प्रोड्युसर जानकार हुनुपर्छ।’

अर्जुनले भने जस्तै उनी जुन सिनेमामा लगानी गर्थे सुरुबाट नै स्क्रिप्ट र त्यसको लेखनका लागि आवश्यक रिसर्च, लोकेसन स्काउटिङ्, ट्यालेन्ट हन्ट, कस्ट्युम तथा प्रप्स डिजाइन, क्यामेराको छनौट, सबैमा आफूलाई सहभागी गराएर काम गर्थे । 

अर्जुनले कबड्डीको सफलता पछि सिनेमा ‘पशुपति प्रसाद’मा काम गरे । सँगै पुरानो डुङ्गा, घाम पानी, मिस्टर झोलेमा पनि अर्जुनले क्रिएटिभ प्रोड्युसरका रूपमा लगानी गरे ।  

उनी भन्छन्, ‘मलाइ लाग्थ्यो नेपालमा बसेर हलिउड बलिउड जस्तो काम गर्न सकिँदैन । त्यसैले स्थानीयका कथा, मौलिक र माटो बोल्ने कथामा चलचित्र निर्माण गर्न सके भुईँ मान्छेका कथा बोल्न सकिन्छ र दर्शक पनि कन्भिन्स हुन सक्छन्।’ यही सोचले हुनु पर्छ उनले हलिउड र बलिउडमा बनेका बिग बजेटका सिनेमाहरूलाई एकातर्फ छाडेर घर गाउँका कथामा लगानी गरे र ती सफल पनि भए।

‘सिनेमाहरू लुट, कबड्डी आदीले बजार पाउँदै गर्दा सिनेमाको अन्तर्राष्ट्रिय बजार अर्थात्  डायस्पोरामा सामान्य चहलपहल सुरु हुँदै थियो । यद्यपि नेपाली बक्स अफिस कलेक्सनको उत्साह भने बढ्दो थियो । तथापि हलिउड बलिउडमा जस्तो लगानी गरेर ठुला फिल्म बनाउन सक्ने आधार थिएन र आज पनि त्यो कठिन नै छ।’
 
उनलाई लाग्थ्यो, ‘लार्जर देन लाइफ हामीलाई चाहिएको पनि त छैन । कबड्डी, लुट, पुरानो डुङ्गा र पशुपति प्रसाद सबै हाम्रो माटोका कथा थिए । सिनेमा घाम पानी मौलिक कथासँगै नेपाली समाजमा रहेका परम्परागत थिति विरुद्धको कथा, अन्तरजातीय विवाहको कथा थियो,’ उनी सम्झन्छन्, ‘सिनेमा मिस्टर झोले पनि सहर बाहिरका पात्रको कथा थियो । र त्यो समय हाम्रा लागि साना साना कथामा कसरी राम्रो काम गर्न सकिन्छ र दर्शक रिझाउन सकिन्छ भन्नेमा केन्द्रित रहेर नै काम गरेका थियौँ ।’ अर्जुनले भने झैँ यी चलचित्रहरूले दर्शकको मन त जिते नै सँगै विभिन्न अवार्ड कार्यक्रममा सहभागी भएर विधागत रूपमै अवार्ड उचाल्न पनि सफल रहे।’

अर्जुनलाई लाग्थ्यो चलिरहेका निर्देशकहरू चलेकै छन् तर आफ्नो समूह विद्यार्थी नै थियो । सिकिरहेकै थियो । विद्यार्थीहरूलाई लगानीमा कसले पत्याउने र ! त्यसका लागि उनीसहितको टिम सर्ट फिल्ममा पनि लाग्यो । थोरै भए पनि उनले सर्ट फिल्मका लागि लगानी गरे, उनले निर्माता भएर काम गरे।
यद्यपि अर्जुनलाई छोटो फिल्म …The contagious apparitions of dambarey dendrite’ ले लामो यात्रा तय गरिदियो । अर्थात् यो सर्ट फिल्म धेरै विदेशी चलचित्र फेस्टिभलहरूमा छनौट भयो । चर्चामा आयो र अर्जुनको लगानीको अर्थ रह्यो। आज यही सर्ट फिल्म बनाउने निर्देशक अन्य फिचर फिल्ममा व्यस्त छन् । उनै निर्देशक आज …The Hole Timer' निर्देशन गरिरहेका छन् । 

पछिल्लो समय सिनेमाकर्मी अर्जुनले आफ्नो कर्मको क्यानभास बढाएका छन् । अमेरिकामा बस्दै आएका उनी आज नेपालमा पामे फिल्म फेस्टिभलको निर्देशक रहेर काम गर्दै आएका छन् । उनी सुनाउँछन्,‘ सिनेमामा लगानी गर्न सुरु गरेदेखि नै नियालिरहेको थिएँ कि, यहाँ सर्ट फिल्म र नयाँ ट्यालेन्टहरुका लागि प्ल्याटफर्म नै छैन । कोही नयाँ कृएटिभ मान्छे आए पनि उसलाई बजारले पत्याउने ठाउँ नै छैन । त्यसैले यसको विकल्पका लागि हामीले पामे फिल्म फेस्टिभल सुरु गर्यौं।’ 

पामे फिल्म फेस्टिभल जहाँ सङ्घर्ष गरिरहेका सिनेमा मेकरहरुलाई एउटा प्लयाटफर्म दिइन्छ। सामान्य ओपन स्क्रिनिङदेखि क्लोज स्क्रिनिङको अवसर प्रदान गर्ने गरिन्छ । हरेक वर्ष डिसेम्बर महिनाको अन्तिम सातामा नेपालमा आयोजना हुने यो फेस्टिभलमा ‘द पिच’ नामको सेक्सन राखिएको छ। उक्त सेक्सनका माध्यमबाट नयाँ सिनेमा मेकरहरूले आफ्नो कथा भन्न पाउँछन् र त्यहीँबाट आयोजकले उक्त कथालाई सिनेमाको रुप दिन फन्डिङ कहाँबाट खोज्ने, कसरी रचनात्मक रूपमा सिनेमालाई अघि बढाउने भन्ने बारेमो समेत फेस्टिभलमा आइडिया सेयरिङ हुन्छ।

पामे फेस्टिभलको आगामी अङ्कमा भने सिनेमा निर्माणमा निर्माताको भूमिका के हुन्छ र निर्माताले आफ्नो प्रोजेक्टलाई कसरी सफल बनाउन सकिन्छ भन्ने विषयमा समेत सेसन चलाउने तयारी भइरहेको अर्जुन बताउँछन्।

अमेरिकामा बसे पनि नेपाली सिने बजारमा लगानीकर्तासँगै सिनेमाको सफलताका लागि रचनात्मक ढङ्गबाट अघि बढिरहेका अर्जुन केहि नयाँ गर्ने सोचमा छन् ।  नेपाली सिनेमाको मोह त्याग्न नसकेका अर्जुन भन्छन् , ‘अब अमेरिकामै नयाँ प्रोडक्सन हाउस खोल्ने तयारीमा छु।’

आफ्नो विगातलाई सम्झदै खुसीका साथ भन्छन्, ‘म सहभागी भएर काम गरेका प्रोजेक्टहरु कुनै पनि फ्लप भएका छैनन् । लगानी कर्ताहरूलाई नाफा नै गराएका छन्।’ कुनै पनि नयाँ प्रोजेक्टमा जोडिएपछि आफूले निर्वाह  गर्ने जिम्मेवारीबारे कुरा गर्दै अर्जुन थप्छन्, ‘सुरुको स्कृप्टिङ फेजदेखि नै म चनाखो हुन्छु, । चलचित्रमा के चाहिन्छ र के चाहिँदैन, कथाले कति वटा गीत मागेको छ र कति वटा एक्सन सिन मागेको छ त्यसमा समेत म ध्यान पुराउने गर्छु ।’

अर्जुनलाई लाग्छ सिनोमाको स्क्रिनमा जे देखिन्छ त्यो मेकरको पहिलो प्राथमिकता हुनु पर्छ । र अडियन्सले स्क्रिनमा देखेको दृश्यले नै सिनेमाको भविष्य निर्धारण गर्ने भएकाले त्यो प्राथमिकतामा हुनु पर्छ । त्यसका लागि कुनै पनि कसुर मेकरले छाड्न हुन्न भन्ने उनको बुझाई छ । अर्जुन प्रोडक्सनको कामसँगै निर्देशकलाई सहज होस भनेर सहायक निर्देशक भएर पनि काम गर्छन् भने छयांकन पश्चात् 'फस्ट लाइन अप एडिटिङ’ तथा कलरिङमा पनि उनको संलग्नता हुने गरेको छ । 
भन्छन्,‘प्रोजेक्ट राम्रो बनाउनु कुनै पनि काम छाड्न हुन्न । म मेरो प्रोजेक्टलाई सफल बनाउन सम्पादन, कलरिङ, साउन्ड सबैमा काम गर्छु । जति बेला चलचित्र सम्पादनको फस्ट लाइन अप तयार हुन्छ त्यही समय सिनेमामा अपुग दृश्य तथा अन्य विषयमा निर्देशकलाई झकझक्याउने काम पनि गरिरहेकै हुन्छु।’


लगानीकर्तासँगै सिनेमा मेकिङमा एउटा टिम लिडरका रूपमा आफूलाई चिनाउने चाहने अर्जुन विना ज्ञान र बजार अनुगमन विना बजार प्रवेश नगर्न नयाँ निर्माताहरूलाई सुझाव पनि दिन्छन् । भन्छन्, ‘नेपालमा निर्माताहरू धेरै आउनुहुन्छ । कोही जग्गा बेचेर कोही व्यापार व्यवसायबाट आउनु हुन्छ। कोही विदेशमा श्रम गरेर पनि आउनुहुन्छ । तर उहाँहरूमा प्राबिधिक ज्ञानको अभाव हुन्छ त्यसैले यसमा ध्यान पुर्याउनु होला।’

सुझाव स्वरूप अर्जुन भन्छन्,‘सिनेमालाई नबुझी आउँदा घाटामा जानुपर्ने अनि पुनः चलचित्र क्षेत्रमा फर्किन नै नसक्ने गरी डुब्नु परेको हुन्छ। हुन त एउटा सिनेमा  मेकरको जिम्मेवारी भनेको निर्मातालाई बचाउनु पहिलो जिम्मेवारी हुन्छ नै यद्यपि निर्माता हुँदै गर्दा चलचित्रमा के चाहिन्छ के चाहिँदैन मैले कुन र के विषयमा बन्ने सिनेमामा लगानी गर्ने भन्ने आधारभूत निर्णयकर्ता चाहिँ स्वयंमा निर्भर रहन्छ । त्यसैले पनि बुझेर मात्र सिनेमा बजारमा प्रवेश गर्न सुझाव दिन्छु।