आर्थिक अनियमितता र गैह्र कानुनी गतिविधिको आरोप लगाउँदै नास्टमा तालाबन्दी, प्रधानमन्त्री कार्यालयमा प्राज्ञ सभाको तयारी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • २६ दिन अगाडि
आर्थिक अनियमितता र गैह्र कानुनी गतिविधिको आरोप लगाउँदै नास्टमा तालाबन्दी, प्रधानमन्त्री कार्यालयमा प्राज्ञ सभाको तयारी

काठमाडौँ - नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान (नास्ट)का सचिव रवीन्द्र प्रसाद ढकालको कार्यालयमा तालाबन्दी गरिएको छ। नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनले सचिव ढकालको कार्यालयमा तालाबन्दी गरेको हो ।

केही समय अघिबाटै विभिन्न मागसहितको सङ्घर्ष गर्दै आए पनि सम्बोधन नभएकाले तालाबन्दी गर्नु परको एक विज्ञप्तिमार्फत सङ्गठनले जानकारी गराएको हो ।

‘नास्टमा भए गरेका आर्थिक अनियमितता र नियम विपरीतका कार्यहरूका विषयमा सम्बन्धित पदाधिकारीहरू समक्ष बारम्बार अनुरोध गर्दा पनि कुनै निष्कर्षमा नपुगेको हुँदा पदाधिकारीहरूलाई सचेत गराउन वाद्यभई भदौ ११ गतेबाट विभिन्न चरणमा विरोधका कार्यक्रमहरू गरिरहेको र हालसम्म पनि कुनै सुनुवाइ नभएकाले भदौ १८ गतेबाट नै अनिश्चित कालका लागि तालाबन्दी गरिएको हो,’ नास्टको कर्मचारी सङ्गठनका अध्यक्ष होम बहादुर खनालद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा उल्लेख छ।

अर्कातर्फ भोली मङ्गलवार नास्टले प्रधानमन्त्री कार्यालयमा प्राज्ञ सभा गर्दै छ । सचिवको कार्यालयमा तालाबन्दीका बिच प्राज्ञ सभाको आयोजना हुनुले सबैको ध्यान तानेको छ । नेपाल विशेषसँग कुरा गर्दै अध्यक्ष थापाले प्रतिष्ठानका सचिवको कार्यालयमा तालाबन्दीका बिच प्राज्ञ सभाको आयोजना गरिनु ध्यानाकर्षका विषय बनेको र कर्मचारी सङ्गठनको मागप्रति प्रतिष्ठान अनुदार देखिएको गुनासो पोखेका छन् । उनले विज्ञप्तीमार्फत वर्तमान समस्या र कर्माचारीका मागलाई बार्ता र छलफलबाट टुंगोमा पुर्याउन प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीको ध्यानाकर्षणसमेत गराएका छन् ।

यस विषयमा कुरा गर्दै नास्टका सचिव रवीन्द्र प्रसाद ढकालले भने कर्मचारी साथीहरूले एकपछि अर्को समस्या झिकेर समाधानको बाटोलाई जटिल बनाएको प्रतिक्रिया दिए । 

उनले भने ‘नास्टमा केहिसमय यता समस्या बढिरहेको छ र हामी त्यसलाई बर्ता र छलफलबाट समाधानको प्रयासमा लागिरहेका छौँ तथापि नास्टको आन्तरिक स्रोत, अन्तर निकाय समन्वयलगायतका विषयसमेत जोडिने भएकाले सबै समस्या एकै पटक समाधान गर्न नसकिएको हो,’ सचिव ढकालले थपे,‘जहाँसम्म प्राज्ञ सभाको कुरा छ, यो हाम्रो नियमित कार्यक्रम रहेकाले निरन्तरता दिएका हौँ । आजसम्म नास्टमा भइरहेका कुनै पनि गतिविधिमा अवरोध नरहेको र सोही अनुरूप पूर्वनिर्धारित प्राज्ञ सभा पनि मङ्गलवार सम्पन्न हुने छ।’

कर्मचारीहरूले समस्या समाधानका लागि प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीको ध्यानाकर्षण गराएपनि मङ्गलवार सम्पन्न हुने प्राज्ञ सभामा  ‍तालाबन्दी र कर्मचारीका मागका विषयहरूले प्रवेश नपाउने  सचिव ढकालले प्रस्ट पारे । 

 यस्तो छ नास्टको नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनले जारी गरेकाे विज्ञप्ती Click Here