वीर अस्पतालको सेवामा सन्तुष्ट हुने अवस्था छैन -स्वास्थ्यमन्त्री पौडेल

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ५९४ दिन अगाडि
वीर अस्पतालको सेवामा सन्तुष्ट हुने अवस्था छैन -स्वास्थ्यमन्त्री पौडेल

 काठमाडौ -स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले वीर अस्पतालका बारेमा आइरहेको नकारात्मक गुनासा र टिप्पणीहरु समाधान गर्ने गरी काम गर्न कर्मचारी तथा स्वास्थ्यकर्मीलाई निर्देशन दिएका छन्।

शुक्रबार बिहान जलन उपचार केन्द्रको उद्घाटन गर्दै मन्त्री पौडेलले सेवाग्राही सन्तुष्ट हुने गरी अस्पताल प्रशासनले काम गर्नुपर्ने बताए । ‘वीर अस्पतालमा केहि नभएको होइन, तर यसको महसुस आम नागरिक र मिडियाले गर्न सक्नुपर्छ। तर वीरमा के भइरहेको हो मैले बुझ्न सकेको छैन,’ उनले भने, ‘सेवाग्राहीले पनि वीरमा राम्रो उपचार सुविधा पाउने अवस्था भएको छ भनेर सन्तुष्ट हुने अवस्था छैन, बाहिर पनि वीरका बारेमा राम्रो सन्देश छैन । वीर अस्पताल साधनस्रोत विहीन अवस्थामा पनि छैन, जनशक्ति पनि सेवा दिन नसक्ने अपुग अवस्थामा पनि छैन, तर यसको सन्देश सकारात्मक ढंगबाट भइरहेको छैन।’

उनले अस्पतालका काम पारदर्शी ढंगबाट हुनुपर्ने बताउँदै अब टिकट तथा पेमेन्टलाई अनलाईन प्रणालीमा लैजान निर्देशन दिए । सेवाग्राहीलाई यसले सहजता हुने उनको ठम्याई छ। कम्तीमा २० प्रतिशत सेवाग्राहीलाई अनलाईनबाट सेवा दिन सके भीड पनि कम हुने उनले बताए । ‘यहाँ भएको जनशक्तिले सबै विरामीलाई सहज सेवा दिन सक्ने अवस्था छैन, तर बाहिर कस्तो सन्देश आउँछ भन्दा अपरेशनको पालो ९ महिनापछि आउँछ, ७ महिनापछि आउँछ। यहीँ भइरहेको साधनस्रोत भित्र छिटो कसरी अपरेशन गराउन सकिन्छ त्यसलाई व्यवस्थापन गरौं। बेड र उपचार अवस्थाबारे पारदर्शी बनाऔं,’ उनले भने, ‘आइसियुको बेड थप्न पनि तत्काल प्रक्रिया अघि बढाऔं, काउन्टरलाई कसरी व्यवस्थित गर्न सकिन्छ त्यता पनि ध्यान दिनुपर्छ।’

मन्त्री पौडेलले १७÷१८ करोड विमाको रकम भुक्तानी हुन बाँकी रहेको बताउँदै १५ दिनभित्र ५० प्रतिशत भुक्तानी हुने बताए। बाँकी ५० प्रतिशतको क्लेमबारे थप रुजु गर्नुपर्ने र कतिपय फेक क्लेम पनि आइरहेको बताउँदै यसलाई व्यवस्थित बनाउनुपर्ने उनको भनाइ थियो। सरकारी अस्पतालका स्वास्थ्यकर्मीले विदाको दिन पनि काम गर्नुपर्ने स्थिति आएको उल्लेख गर्दै पौडेलले इन्सेन्टीभ दिनेबारे सरकारले तयारी गरिरहेको जानकारी दिए। यस्तै, उनले दरबन्दी भएअनुसारको नर्सिङ जनशक्ति मन्त्रालयले दुई–तीन महिनासम्म पठाउने प्रतिवद्धता जनाए।