तत्काल लाभग्राहीको विवरण पठाउन गृहमन्त्रीको निर्देशन

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७५२ दिन अगाडि
तत्काल लाभग्राहीको विवरण पठाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं-गृहमन्त्री रमेश लेखकले तत्काल लाभग्राहीहरुको विवरण पठाउन जिल्ला प्रशासन कार्यालय र जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएका छन्।

आइतबार ललितपुरको गोदावरीमा बाढी र पहिरो प्रभावित क्षेत्रको निरीक्षणपश्चात् जिल्ला प्रशासन कार्यालय र जिल्ला सुरक्षा समितिलाई लाभग्राहीहरुको विवरण पठाउन निर्देशन दिँदै उनले क्षतिको मूल्याङ्कन गरेर तीन दिनभित्र राहत उपलब्ध गराउने सरकारको योजना रहेको बताए।‘सरकारले यो समस्यालाई गम्भीर रुपमा लिएको छ, सकेसम्म छिटो उद्धार, राहतसामग्री वितरण गरी नागरिकको जीवन सहज बनाउने हाम्रो दायित्व हो, खोजी तथा उद्धारको काम भइरहेको छ । बाढीपहिरो प्रकोपले देशका विभिन्न क्षेत्रमा जनधनको क्षति भएको छ’, गृहमन्त्री लेखकले भने, ‘क्षतिको यकिन विवरण सङ्कलनको काम पनि भइरहेकाले यसमा सबै संवेदनशील भएर काम गर्नु आवश्यक छ।’

गृहमन्त्री लेखकले पीडित घाइतेको निःशुल्क उपचार भइरहेको जनाउँदै सोको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने बताए। उनले आज बिहान सुरक्षा समितिसँगको बैठकमा राहत उद्धार तथा भौतिक क्षतिका बारेमा जानकारी लिएका थिए। यसैक्रममा उनले पहिरोले क्षति पु¥याएको लेलेको आनन्दवन अस्पताल क्षेत्रको पनि निरीक्षण गरे। अस्पताल परिसरमा गएको पहिरोमा परी ३२ वर्षदेखि अस्पतालको रिसर्च टेक्निकल अफिसरमा कार्यरत विवेक सिंहको मृत्यु भएको थियो। ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले हालसम्म ३९ जना मृतकका परिवारलाई रु दुई लाखका दरले घरमै पुगेर रकम प्रदान गरिएको जानकारी गृहमन्त्री लेखकलाई गराए। उनले बाँकी मृतकका परिवारलाई रकम उपलब्ध गराउने विषयमा समन्वय भइरहेकाले तत्काल उपलब्ध गराइने जानकारी गराए।