काठमाडाैँ -सत्तारुढ गठबन्धनले सडकबाट सरकारको विकल्प खोज्ने कुरा कुनै पनि अर्थमा स्वीकार्य हुन नसक्ने बताएको छ।
शुक्रबार बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले सरकारको विकल्प खोज्ने बाटो संसद र नयाँ जनादेश भएको प्रष्ट्याएको हो। अराजकतालाई प्रोत्साहन गर्ने, राजनीतिक अस्थिरतालाई बल पु¥याउने तथा जनताको सुशासन र विकासको आकांक्षालाई असर पुग्ने गरी विभिन्न नाम र स्वरुपमा हुने कुनै पनि अवाञ्छित गतिविधिहरु उचित नहुने गठबन्धनका सात दलका नेताहरुले जारी गरेको वक्तव्यमा उल्लेख छ।
‘सडकबाट लोकतान्त्रिक व्यवस्था र सरकारको विकल्प खोज्ने कुरा कुनै पनि अर्थमा स्वीकार्य हुन सक्दैन। लोकतन्त्रको विकल्प अझ उन्नतस्तरको लोकतन्त्र हो र सरकारको विकल्प खोज्ने बाटो संसद र नयाँ जनादेश नै हो । त्यो भन्दा भिन्न तरिकाबाट अघि बढ्ने प्रयास लोकतन्त्रको मूल्य र मान्यता विपरित हुने कुरा स्पष्ट छ । यसप्रति सचेत र सजग रहन हामी सम्बद्ध पक्षको ध्यानाकर्षण गर्दछौँ,’ वक्तव्यमा भनिएको छ।