चैतमा हुने नेपाल वारको निर्वाचनका लागी मध्य कात्तिकमै दौडधुप सुरु, भागबन्डाको केन्द्रमा अध्यक्ष र महासचिव पद

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७४६ दिन अगाडि
चैतमा हुने नेपाल वारको निर्वाचनका लागी मध्य कात्तिकमै  दौडधुप सुरु, भागबन्डाको केन्द्रमा अध्यक्ष र महासचिव पद

काठमाडौँ  - २०८१का मुख्य चाडपर्वहरू किनारा लागेसँगै नेपाल वार चुनावी मुडमा अघि बढेको छ । आगामी चैत महिना भित्र नेपाल वार एसोसिएसनले नयाँ कार्य समिति चयन गर्नेछ ।

खास गरेर राजनीतिक पार्टी निकट सङ्गठनहरूबिच गठबन्धन र प्रतिस्पर्धाका आधारमा सम्पन्न हुने निर्वाचनका लागि यस वर्ष पनि लोकतान्त्रिक शक्ति अर्थात् नेपाली काँग्रेस निकट ‘डी.एल.ए.’ र प्रगतिशील शक्ति अर्थात् नेकपा एमाले निकट ‘पी.पी.एल.ए.’को मुख्य भिडन्त हुने देखिन्छ ।

अन्य सङ्गठनहरू माओवादी निकट आर.पी.एल.ए., नेकपा समाजवादी निकट एस.पी.एल.ए र केही समयदेखि चर्चामा रहँदै आएको स्वतन्त्र कानुन व्यवसायी मञ्चको उपस्थिति पनि यस पटकको निर्वाचनका लागि महत्त्वपूर्ण शक्तिका रूपमा देखिने पक्का छ । 

२०७८को निर्वाचनमा सत्ता गठबन्धनको फेरो समाएर डी.एल.ए., आर.पी.एल.ए. र मधेस निकट अधिवक्ताहरू तथा पहिचानवादीहरूसँग गठबन्धन गरेर अध्यक्ष गोपालकृष्ण घिमिरे निर्वाचित भएका थिए । उक्त गठबन्धनलाई देखेर यस वर्षको निर्वाचनमा ‘पी.पी.एल.ए.’ले आर.पी.एल.ए.सँग गठबन्धनको इसारा गरिसकेको छ । जसको उदाहरण केही महिना अघि सम्पन्न उच्च अदालत वार पाटनको निर्वाचनले देखाइसकेको छ। 

यसै गरी स्वतन्त्र कानुन व्यवसायी मञ्चले पनि आफ्नो उपस्थितिको घेरा बढाउँदै लगेको देखिन्छ । उक्त सङ्गठनले उच्च अदालत वार पाटनमा समावेशीको विषय उठाएर निर्वाचन बहिस्कार गरेसँगै वारमा आफ्नो महत्त्वपूर्ण उपस्थितिको दाबी गरेको थियो भने, अदालत र वार भित्रका बेतिथिहरूलाई चिरफार गर्नुपर्छ भन्ने पक्षमा पनि यो सङ्गठन दृढ देखिन्छ। 

वारको निर्वाचनका लागि सबै सङ्गठनले सक्रियता बढाउँदै गर्दा डी.एल.ए. भित्र अध्यक्षको उम्मेदवारीको प्रत्याशीमा धेरै नाम चर्चामा छन् । वरिष्ठ अधिवक्ता यदुनाथ खनाल, अधिवक्ता खम्ब बहादुर खाती, वरिष्ठ अधिवक्ता योगेन्द्र अधिकारी, पूर्व न्याय परिषद् सदस्य वरिष्ठ अधिवक्ता उपेन्द्र केशरी न्यौपानेलगायतको नाम डी.एल.ए. भित्रबाटै आउन थालेको छ । 

जसमा यदुनाथ खनाल उम्मेदवारका लाग आफै लबिङ गरिरहेका र खम्ब बहादुर खाती  काँग्रेस सभापतिको आडमा अध्यक्षको दाबी गरिरहेको उनी निकट स्रोत बताउँछ । यसै गरी योगेन्द्र अधिकारी राष्ट्रपति रामचन्द्र पौडेलको आड लिएर नेतृत्व लिने दाउमा देखिएका छन् भने उपेन्द्र केशरी न्यौपाने पदीय हिसाबमा पूर्व न्याय परिषद् सदस्य भइसकेकाले स्वतः वारको अध्यक्ष दाबी गर्ने पक्षमा देखिन्छन् ।

पी.पी.एल.ए. भित्र भने कसलाई नेतृत्वमा लाने भनेर एकमत देखिँदैन । वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले आफू निर्विकल्प उम्मेदवारको रूपमा अघोषित उम्मेदवार भएको भन्ने लबिङ सुरु गरिरहँदा उनकै सङ्गठन भट्टराईको विपक्षमा देखिन्छ। तत्कालीन प्रधानमन्त्री पदमा रहँदा के.पी शर्मा ओलीले संसद् विघटन गरेपछि त्यसको विपक्षमा उभिएका भट्टराईलाई अध्यक्षको टिकट दिन नहुने पी.पी.एल.ए. पक्षका पदाधिकारीहरू नै बताउँछन् । 

पी.पी.एल.ए.मा विशेष गरेर दुई खेमाको हालीमुहाली चल्ने गरेको छ । महान्यायाधिवक्ता रमेश बडाल खेमा र वरिष्ठ अधिवक्ता शम्भु थापा खेमा । यी नै खेमाबाट चुनावका लागि उम्मेदवार बन्ने पक्का छ। यस्तो अवस्थामा टिकाराम भट्टराई भन्दा वरिष्ठ अधिवक्ता ईश्वरी भट्टराईले टिकट पाउने सम्भावना बढी देखिन्छ । ईश्वरी भट्टराई, जसलाई ओली निकट मान्ने गरिन्छ ।

यता पी.पी.एल.ए. र आर.पी.एल.ए.ले गठबन्धन गरेर अघि बढे वरिष्ठ अधिवक्ता, पूर्व महान्यायाधिवक्ता रवण श्रेष्ठले वार अध्यक्षको दाबी गर्ने देखिन्छ । यद्यपि श्रेष्ठका पक्षमा प्रधानमन्त्री केपी शर्मा ओलीले चासो नराखेका कारण पी.पी.एल.ए.– आर.पी.एल.ए.गठबन्धनको सम्भावना टर्दै गएको छ।

बाँकी रहेका आर.पी.एल.ए. र एस.पी.एल.ए महासचिवसहितका पदाधिकारीको लबिङमा रहेको र जुन सङ्गठनसँग भागबन्डा मिल्छ त्यतै गठबन्धन गर्ने पक्षमा देखिन्छन् । यता आफूलाई नयाँ र वैकल्पिक सङ्गठनका रूपमा व्याख्या गर्दै आएको स्वतन्त्र कानुन व्यवसायी मञ्च पनि महासचिवसहितको लबिङमा छ । उक्त सङ्गठनका अध्यक्ष यज्ञमणि न्यौपाने महासचिवको दाबीसहित लबिङमा रहेको सङ्गठनका पदाधिकारीहरू बताउँछन् ।

यस अघि न्याय परिषद् नियमावलीको संशोधनको विरुद्धमा नेपाल वार एसोसिएसनलाई साथ दिँदै स्वतन्त्र कानुन व्यवसायी मञ्च उभिएको थियो भने उक्त नियमावलीकै विषयलाई लिएर वार अध्यक्ष गोपाल कृष्ण घिमिरेमाथि अदालतको अवहेलनामा मुद्दा उठाएर विचाराधीन रहेको अवस्था छ । यसरी न्यायालय सुधारका लागि आवाज उठाइरहेको स्वतन्त्र कानुन व्यवसायी मञ्च आगामी निर्वाचनमा नवोदित कानुन व्यवसायी तथा न्यायालय पुर्न संरचना चाहने सबैको साथ लिएर महासचिव पद हत्याउने दौडमा देखिन्छ । तर, दलीय प्रभाव रहने वारको निर्वाचनमा वैकल्पिक शक्तिका लागि यो उत्ति सहज देखिँदैन।

हुन त आगामी वारको निर्वाचन प्रतिनिधि छनौटका लागि मात्र नभएर नेपाल वार एसोसिएसनले उठाएका विविध मुद्दा र त्यसको भार कसले बोक्न सक्छ भन्ने विषयमा पनि केन्द्रित हुने छ ।

न्यायपालिका पुनर्संरचना र न्याय परिषद् नियमावली २०७४ को पहिलो संशोधनले जिल्ला तथा उच्च अदालतका न्यायाधीशको संविधानले व्यवस्था गरेको संविधानको धारा १४१(३)को अधिकार कुण्ठित भएको विषय जस्ता मुद्दालाई निरन्तरता दिन सक्ने नेतृत्वको खोजी पनि अबको बार निर्वाचनको जिम्मेवारी रहन्छ।