काठमाडौँ– नेपालबाट सूचना प्रविधि निर्यात गर्नेमध्ये कोडावतार टेक प्रा.ली. सबैभन्दा धेरै कर तिर्ने कम्पनी भएको छ ।
आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९÷८० मा सबैभन्दा बढी कर तिरेका करदातालाई सम्मान गर्दै कोडावतार टेक प्रालिलाई उत्कृष्ट करदाता कम्पनीको रूपमा सम्मान गरेको हो ।
कम्पनीले सूचना प्रविधि निर्यात क्षेत्रका कम्पनीमध्ये गत आवमा सबैभन्दा बढी कर तिरेको भन्दै सम्मान गरिएको हो । कोडावतार टेक प्रा.ली.का संस्थापक दिनेश सिलवालले उक्त सम्मान लिएका छन् । यस्तै गत आवमा सबैभन्दा बढी कर नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले तिरेको छ ।
एकलौटी फर्ममध्ये सबैभन्दा बढी कर श्रुति ट्रेडर्सलाई पनि सम्मान गरिएको छ । स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल लिमिटेड, पर्यटन व्यवसायतर्फ तारा गाउँ रिजेन्सी होटेल लिमिटेड, वस्तु व्यापार गर्ने कम्पनीमा भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोर सम्मानित भएका छन् ।
यस्तै वस्तु निर्यात कारोबार गर्ने कम्पनीतर्फ डाबर नेपाल, कृषि एवं पशुपन्छी क्षेत्रतर्फ पतञ्जलि आयुर्वेद, बैङ्क वित्तीय संस्था र बिमाको कारोबार गर्ने कम्पनीतर्फ नविल बैङ्क लिमिटेडलाई सबैभन्दा बढी कर तिर्ने कम्पनीका रूपमा सम्मान गरिएको छ ।
५० करोडदेखि एक अर्ब रुपैयाँसम्मको कारोबार गर्ने कम्पनीतर्फ सिडिएस एन्ड क्लियरिङ लिमिटेड उत्कृष्ट करदाताका रूपमा सम्मानित भएको छ ।