‘अग्नि दहन’की   ‘माइली दमिनी’सँग चरित्र संवाद : 'मलमूत्र खुवाई कुटपिट गर्दा धेरै गाह्रो भयो' 

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ५२७ दिन अगाडि
‘अग्नि दहन’की   ‘माइली दमिनी’सँग चरित्र संवाद : 'मलमूत्र खुवाई कुटपिट गर्दा धेरै गाह्रो भयो' 

काठमाडौँ - नाटक र फिल्मको अभिनयमा प्रमीला ताम्राकार तुलाचन नयाँ नाम होइन ।

२०५० सालमा नाटक ‘परित्याग’बाट अभिनय यात्रा थालेकी उनले ‘मलामी’, ‘थाङ्ला’, ‘निरमाया’, ‘एक चिहान’ नाटक र ‘धर्मात्मा’, ‘नाइके’, ‘ह्वाइट सन’, ‘पञ्चेबाजा, ‘च च हुई’ र ‘पुजार सार्की’मा अभिनय गरिसकेकी छन् ।

यिनै प्रमीला यही मङ्सिर ७ गतेबाट रिलिज हुने ‘अग्नि दहन’ फिल्ममा ‘बोक्सी’को आरोप लागेकी ‘माइली दमिनी’ चरित्रमा देखिँदै छिन् ।

उनै प्रमीलासँग ‘अग्नि दहन’ र पात्र विशेष विषयमा सम्बन्धित रहेर गरिएको कुराकानी:

तपाईँले बोक्सीको आरोप लागेकी माइली दमिनीको भूमिका निर्वाह गर्नुभएको छ । यो भूमिका तपाईँका लागि कत्तिको चुनौतीपूर्ण रह्यो ?

बोक्सीको आरोप लागेको माइली दमिनीको भूमिका निभाउन मलाई निकै चुनौतीको विषय रह्यो । किनकि यो फिल्म सत्य घटनामा आधारित रहेको हुनाले मैले यसमा माइली दमिनीको पात्रमा यथार्थ अभिनय गर्नुपर्थ्यो । ‘अग्नि दहन’ मेरो अरूभन्दा निकै फरक भूमिका रहेको फिल्म पनि हो ।

यो चरित्रका लागि पात्र अध्ययन गर्नु पनि भयो कि ?

माइली दमिनीको चरित्रको लागि मैले निकै समय पात्र अध्ययन गर्नुपर्‍यो । । यो पात्र निकै चुनौती पूर्ण थियो । मैले यो चरित्रको लागि सुकुम्वासी बस्तीमा गएर धेरै अध्ययन गरेँ । हाम्रो समाजको दुःखी, गरिब महिलाप्रति गरिने व्यवहार, एकल महिलालाई गरिने दुर्व्यवहार, असहाय महिलालाई लगाइने लाञ्छनाजस्ता दृश्य देखेर यही चरित्रलाई पर्दामा उतार्ने प्रयास गरेँ ।

तपाईँको चरित्रका लागि परिवारसँग सरसल्लाह गर्नुभयो कि भएन ?

मैले चरित्रका लागि घर परिवारसँग सर–सल्लाह गरेँ । यसमा मेरो श्रीमानले निकै सपोर्ट गर्नुभयो ।

फस्ट लुक र ट्रेलर आएपछि तपाईँको चरित्रप्रति कस्तो प्रतिक्रिया पाउनुभयो ?

फस्ट लुक र ट्रेलर आएपछि सबैले राम्रै प्रतिक्रिया दिनुभयो । धेरै दर्शकले माइली दमिनीलाई सहानुभूति दिनुभयो । कति बच्चाहरू माइली दमिनीको दृश्य आउँदा डराए ।

महिलालाई बोक्सीको आरोप किन लगाउँदा रहेछन् ?

जो व्यक्ति अशक्त, दुःखी, गरिब, सहाराविहीन एकल महिला वा पुरुष, जसका विरुद्ध बोलिदिने समाज हुँदैन, उनीहरूलाई नै बोक्सीको आरोप लगाइन्छ ।

माइली दमिनी चरित्रको ह्याङओभर कत्तिको रह्यो ?

पात्रमा माइली दमिनीलाई एउटा दृश्यमा मलमूत्र खुवाई कुटपिट गर्दा मलाई एकदम गाह्रो महसुस भयो । मैले पात्र निभाउँदै गर्दा यति गाह्रो भयो भने साँच्चै नै असहाय महिला दिदी, आमाहरूलाई कस्तो भयो होला भन्ने कुराले मलाई धेरै दिन माइली दमिनीको ह्याङ ओभर रहिरह्यो ।

चरित्र निभाइरहँदा आफू कत्तिको भावुक हुनुभयो ?

मैले माइली दमिनीको पात्र निभाई रहँदा निकै भावुक बनेँ । सबैभन्दा भावुक माइली दमिनीको घर जलाउँदा र मलमूत्र खुवाउँदा भएँ ।

प्रमीलाका लागि अग्नि दहन किन हेर्ने ?

फिल्म ‘अग्नि दहन’ प्रमीलाको लागि हेर्नै पर्ने बनेको छ, किनभने यो फिल्म सत्य घटनामा आधारित छ । फिल्मले बोक्सी कुप्रथालाई हटाउन मद्दत पुर्‍याएको छ । यस फिल्ममा मैले अरु फिल्ममा भन्दा फरक चरित्र निभाएकी छु । त्यसैले पनि ‘अग्नि दहन’ मेरा लागि हेर्नै पर्ने बनेको छ ।