ललितपुर - निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ललितपुर महानगर कमिटीले ललितपुरको मौलिक पौराणिक सीप कला प्रविधिको सिकाई प्रदर्शनी गर्ने भएको छ । ‘एक्प्लोर द एन्सेन्ट इन्जेन्यूटी अफ ललितपुर’ नाम दिइएको उक्त प्रदर्शनीले विद्यार्थीको सिर्जनात्मक सिकाइलाई मध्यनजर गर्दै वस्तुगत सिकाईको रुपमा उक्त प्रदर्शनी गर्न लागिएको महानगर प्याब्सनले जनाएको छ ।
महानगर प्याब्सनले आज एक पत्रकार भेटघाट आयोजना गर्दै मङ्सिर १३, १४ र १६ गते ३ दिन उक्त प्रदर्शनी गर्ने जानकारी दिएको हो । ललितपुर महानगर प्याब्सनका अध्यक्ष हिरा महर्जनले ललितपुरमा चलिआएका मौलिक, परम्परागत ऐतिहासिक एवं पुरातात्त्विक घरायसी औजार, प्रविधि र सामानहरुको स्थानीय व्यक्तिहरुद्वारा प्रयोगात्मक प्रदर्शनी गर्न लागिएको जानकारी दिनुभयो ।
महर्जनका अनुसार मौलिक प्रविधिहरू चिउरा कुट्ने, ओखल, जाँतो, माटोको भाँडाकुँडा, इट्टा, ढिकी, सुकुल बुनाई, तानमा कपडा बुनाई, प्रस्तर मूर्तिकला, धातु मूर्तिकला, काष्ठकला आदिको लाइभ प्रदर्शनी गर्न लागिएको हो । यसै गरी ताम्रकारहरुको भाँडाकुँडा बनाउने सीप, महाबौद्धको प्रतिमा, मच्छिन्द्रनाथ र मीननाथको प्रतिमा, सत्यमोहन जोशीको सालिक, ज्यापु समाज सङ्ग्रहालयबाट उपलब्ध विभिन्न परम्परागत तथा पुरातात्त्विक सामग्रीहरूको विषयमा जानकारी दिइनेछ ।
प्रदर्शनीमा चित्रकला, तेल बनाउने प्रविधि, नेवारी खेलहरू, डोको र प्याङ बुनाई लगायतका ४० भन्दा बढी सीप अवलोकनमार्फत सिक्ने र जानकारी लिन सकिने महानगर प्याब्सन अध्यक्ष महर्जनले जानकारी दिए । उनका अनुसार कार्यक्रममा हालसम्म ५० भन्दा बढी अवलोकन गर्न बुकिङ गरिसकेको र सङ्ख्या अझै बढ्ने तथा करिब ७ हजार विद्यार्थीहरूलाई प्रदर्शनीमा सहभागी गराउने तयारी भएको बताए ।
आयोजकका अनुसार प्रदर्शनीमा कक्षा १ देखी १० सम्म सामाजिक शिक्षामा पठनपाठन भइरहेका विषयहरू समावेश गरिएकोले विद्यार्थीहरूलाई केन्द्रित गरी कार्यक्रम निर्माण गरिएको जनाइएको छ ।