नेपाल वारमा ताला लगाउने चेतावनीसहित स्वतन्त्र कानुन व्यवसायी मञ्चले बुझायो पाँच बुँदे माग पत्र

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७२२ दिन अगाडि
नेपाल वारमा ताला लगाउने चेतावनीसहित स्वतन्त्र कानुन व्यवसायी मञ्चले बुझायो पाँच बुँदे माग पत्र

काठमाडौँ - स्वतन्त्र कानुन व्यवसायी मञ्चले नेपाल वार एसोसिएसन लाई चेतावनीसहितको पाँच बुँदे माग पत्र बुझाएको छ । मङ्गलवार काठमाडौँ स्थित नेपाल वारको बैठक कक्षमा मञ्चका अध्यक्ष यज्ञमणि न्यौपानेसहितको टिमले वारका अध्यक्ष गोपाल कृष्ण घिमिरेलाई उक्त माग पत्र बुझाएको हो ।

स्वतन्त्र कानुन व्यवसायी मञ्चले नेपाल वार एसोसिएसन अन्तर्गतका इकाई वार एसोसिएसनहरूले गरेका विधान विपरीतका कार्य र त्यसबाट परेको असर तथा नेपाल वार एसोसिएसनले पुरा गर्नुपर्ने दायित्व लगायतका विषयमा सरोकार राख्दै माग पत्र बुझाएको जनाएको हो । मञ्चले आफ्ना मागहरू नेपाल वारले १२ दिन भित्र पूरा नगरे चरणबद्ध आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ ।

मञ्चले अघि सारेका मागहरूमा

- नेपाल वार एसोसिएसन तर्फबाट न्याय परिषद् सदस्य सिफारिस गर्दा सार्वजनिक सुनुवाइ गर्नु पर्ने । 

- इकाई वार एसोसिएसनको सदस्यता लिन कानुन व्यवसायीले सदस्यता फर्म बुझाउन सिफारिस गर्नुपर्ने व्यवस्था हटाउनु पर्ने । 

- जिल्ला तथा उच्च अदालत वार इकाईको सदस्यता लिँदा आवश्यक कागजात, योग्यता र दस्तुरमा एकरूपता कायम गर्नु पर्ने । 

- निर्वाचनमा प्रयोग हुने मतपत्रमा प्यानल अनुसार सिरियल नम्बर राख्ने प्रथा हटाई नाम अनुसार अर्थात् अल्फाबेटका आधारमा राखिनु पर्ने 

- नेपाल वार एसोसिएसनको निर्वाचनलाई लक्षित गरी पछिल्लो मितिमा नवीकरण गरी  नेपाल बारमा पठाइएका नाम (मञ्चले पहिचान गरेका) आगामी नेपाल वार एसोसिएसनको     मतादाता सूचीबाट हटाउनु पर्ने,  रहेका छन्  । 

स्वतन्त्र कानुन व्यवसायी मञ्चले उल्लेखित मागहरू पूरा गरी नेपाल वार एसोसिएसनले सम्पूर्ण वार इकाईहरूमा पत्राचार नगरे चरणबद्ध आन्दोलनका कार्यक्रमका बारेमा पनि जानकारी गराएको छ ।

चेतावनीसहितका आन्दोलनका कार्यक्रमहरूमा आगामी पुस एक गते दिनको ३ बजेबाट नेपाल बार एसोसिएसनको सभा कक्षमा धर्ना दिने । यति गर्दा पनि माग पूरा नभए पुस ३ गतेबाट बार अध्यक्षको कार्यकक्षमा तालाबन्दी गर्ने र त्यसपछि पनि माग पूरा नभएका खण्डमा वार एसोसिएसनको मूल प्रवेशद्वारमै तालाबन्दी गरी धर्ना दिने कार्यक्रम रहेको मञ्चका अध्यक्ष न्यौपानेले बताए । 

मञ्चले बुझाएको पत्र लिँदै नेपाल वारका ए एसोसिएसनका अध्यक्ष घिमिरेले मागहरू कानुन व्यवसायीहरूका हितमा भएकाले पूरा गर्न पहल गर्ने आश्वासन दिए । उनले नेपाल वार भित्र पनि विभिन्न समस्या रहेकाले सबै मिलेर अघि बढ्नु पर्नेमा जोड दिए ।