नेपाली चलचित्रलाई व्यावसायिक दृष्टिकोणबाट हेर्नुपर्छ- प्रदीप खड्का

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६९२ दिन अगाडि
नेपाली चलचित्रलाई व्यावसायिक दृष्टिकोणबाट हेर्नुपर्छ- प्रदीप खड्का

काठमाडौँ - अभिनेता प्रदीप खड्काले नेपाली चलचित्र क्षेत्रलाई व्यावसायिक दृष्टिकोणबाट हेर्न जरुरी रहेको बताएका छन् ।

नेपाली चलचित्र क्षेत्र किराना पसल शैलीमा अगाडि बढिरहेको र व्यावसायिक हुन नसकेको उनको तर्क थियो ।आइतबार ‘कर्णाली अन्तर्राष्ट्रिय महोत्सव’को विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रदीप चलचित्र क्षेत्र पारिवारिक व्यापार समेत भएको बताए । ‘जुन दिन चलचित्रलाई व्यापारको दृष्टिकोणबाट हेरिन्छ, त्यो दिन धेरै कुरा परिवर्तन हुन्छ । अहिलेसम्म पारिवारिक व्यापार भइरहेको छ । किराना पसल थापेजस्तो भइरहेको छ,’ उनले भने, ‘१० बजेसम्म बुवा पसलमा बस्ने, आमा पूजापाठ गर्ने । १० बजेपछि बुवा खाना खाएर सुत्न जाने, आमा पसलमा बस्ने । स्कुलबाट फर्किएपछि बच्चाबच्ची पसलमा बस्ने ।

आमा खाना पकाउने जाने जस्तो भइरहेको छ ।’ चलचित्रको प्रभाव र महत्वलाई बुझ्न नसक्दा नेपाली चलचित्र उद्योग फस्टाउन नसकेको उनले गुनासो गरे । चलचित्र क्षेत्रको विकासका लागि ठुला व्यापारिक घरानाको प्रवेश हुनुपर्ने उनले धारणा राखे । चलचित्र क्षेत्रमा कर्पोरेट व्यापार हुन नसकेको बताएका प्रदीपले कर्पोरेट व्यापार भयो भने फाइदा र घाटा हेरेर लगानी हुने फिल्म क्षेत्र माथि जाने धारणा राखे ।