काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले सरकारले अनुसन्धान परियोजनाहरुका लागि पर्याप्त रकम उपलब्ध गराउन आवश्यक रहेको बताएकी छन् ।
बिहीबार काठमाडौंमा आयोजित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ४२ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले दिगो विकासको लागि प्रविधिको आधुनिकिकरण महत्वपूर्ण भएको भन्दै वैज्ञानिकहरुको विश्वव्यापी ज्ञान नेटवर्कमा पहुँच बढाउनु पर्ने बताइन् ।
उनले भनिन्, ‘हामीले अनुसन्धान परियोजनाहरुका लागि पर्याप्त रकम उपलब्ध गराउनु पर्नेछ र वैज्ञानिकहरुको विश्वव्यापी ज्ञान नेटवर्कमा पहुँच बढाउनु पर्नेछ । यसतर्फ सुनिश्चि गर्नुपर्ने चुनौती हाम्रो सामु रहेको छ । दिगो विकासको लागि प्रविधिको आधुनिकिकरण पनि महत्वपूर्ण छ ।’ यस्तै, उनले प्रतिष्ठानका मिशनहरुलाई अगाडि बढाउनका लागि मन्त्रालयको दृढ, अटल, संकल्प र सहयोग रहने विश्वास पनि दिलाएकी छन् । उनले भनिन्, ‘प्रतिष्ठानका मिशनहरुलाई अगाडि बढाउनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको दृढ, अटल, संकल्प र सहयोग रहने विश्वास दिलाउन चहान्छु । सँगै हामी अनुसन्धान र नविनताको लागि सक्षम वातावरण सिर्जना गर्ने प्रयास गर्ने छौ । जा विचार फस्टाउन सक्छन् र समाधानहरु देखा पर्न सक्छन् ।’