काठमाडौं । चलचित्र ‘कोसेढुंगा’ निर्माणको घोषणा भएको छ ।ऐतिहासिक ब्लकबस्टर ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलले ‘कोसेढुंगा’ निर्माणको घोषणा गरेका हुन् ।
सरोज पौडेलले आफूले निर्देशन गर्ने चलचित्रको थिम पोस्टर सार्वजनिक गर्दै निर्माणको घोषणा गरेका छन् । थिम पोस्टरमा घुरमैलो बिहानीलाई पृष्ठभूमिमा राखेर पहाडलाई हेरिरहेकी एक महिला उभिएकी छिन् ।
घुरमैलो कलरले पहाडी कठिन जीवन, अग्लो रुखले पहाडी जीवन बाँच्नेका अग्ला सपना र क्षितिजले भेट्न नसकिने सपनाको सङ्केत गरेको छ। डाँडामा उभिएर पहाडलाई हेर्दै गरेकी महिलाले पहाडी जीवन छोडेर सपना पछ्याउने हिँडेको अर्थ लगाउन सकिन्छ ।
निर्माण पक्षले जानकारी दिए अनुसार चलचित्र २०८२ मा रिलिज हुनेछ । नरदेवी फिल्मस्को प्रस्तुति रहेको चलचित्रमा प्रेविल कँडेल र हरि महतको लगानी रहने छ भने दिनेश खड्का कार्यकारी निर्माता रहेका छन् । बाबु श्रेष्ठको डीओपी रहने चलचित्र सुरेन्द्र पौडेलले सम्पादन गर्नेछन् । चलचित्रमा सङ्गीत रिदम कँडेल र आशिष अविरलको रहनेछ ।
कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा रहनेछन् । चलचित्रको मुख्य भूमिकामा को-को रहनेछन् त्यो भने निर्माण टिमले जानकारी दिएको छैन । “सिनेमा कस्तो हुने, कथा के हो, कलाकार को–को हुने त्यो हामी केही समयपछि जानकारी गराउनेछौँ,” निर्देशक पौडेलले भने, “तर हामी यति भन्छौँ, पूर्ण बहादुरको सारङ्गी जसरी दर्शकले मन पराउनुभयो त्यसैगरी मन जित्ने सिनेमा बनाउने प्रयासमा छौँ ।”
उनले निर्देशन गरेको ‘पूर्ण बहादुरको सारङ्गी’ले नेपाली चलचित्र उद्योगमा सबैभन्दा धेरै कमाउने चलचित्रको रेकर्ड राखिसकेको छ । करिब ५० करोड रुपैयाँ नेपाली बक्स अफिसबाट मात्रै कलेक्सन गरेको छ ।
त्यसैले उनै निर्देशकले बनाउने ‘कोसेढुंगा’ पनि सफल हुनेमा अपेक्षा राख्न सकिन्छ । ‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशकले निर्देशन गर्ने भएकाले यो चलचित्र प्रतीक्षित हुनेछ ।