काठमाडौं - हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’को ट्रेलर सार्वजनिक भएको छ ।
चलचित्र विकास बोर्डको हलमा सोमबार आयोजित समारोहमा ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरले फिल्मको कथावस्तु र चरित्र चित्रणबारे प्रकाश पार्छ। ३ मिनेट लामो ट्रेलरले गाउँघरमै बसेर पेशा व्यवसाय अँगालेका ४ युवकको जीवनमा अपरिचित युवतीको आगमनपछि उत्पन्न परिस्थितिलाई हास्य शैलीमा प्रस्तुत गरेको छ । ट्रेलर हेर्दा फिल्मले हररमा पनि नयाँ स्वाद दिने अनुमान गर्न सकिन्छ । माघ ४ गतेदेखि प्रदर्शनमा आउने फिल्मलाई नवीन भट्टले निर्देशन गरेका हुन् । कार्यक्रममा बोल्दै निर्माता तथा अभिनेता मनोज अधिकारील फरक कथावस्तुमा नौलो शैलीमा फिल्म निर्माण भएको बताए । फिल्ममा सन्दीप श्रेष्ठ, भावना उप्रेती, रविना केसी, पिटर प्रिन्स, मनोजकुमार अधिकारी, शंकर सेढाई, सूर्यमान लिम्बू, पुष्प अवस्थी लगायतको अभिनय छ ।
निर्देशक भट्ट र सन्दीप श्रेष्ठले फिल्मको पटकथा मिलेर लेखेका हुन् । ‘आज साइकल, भोलि फरारी’ ट्यागलाइन दिइएको फिल्मले दर्शकलाई नयाँ स्वाद दिने छनक ट्रेलरले देखाउँछ । मनोजकुमार अधिकारी फिल्मका निर्माता हुन् । जितु तामाङको छायाङ्कन, केशवराज भट्टको नृत्य, प्रशान्त शिवाकोटीको संगीत र अनन्त घिमिरेको सम्पादन रहेको फिल्म बिन्ध्यबासिनी क्रियसनको ब्यानरमा निर्माण भएको हो ।