काठमाडौं - प्रकाश सपुत लगायतका कलाकारले आगामी फिल्म ‘सोल्टिनी’को छायांकन मंगलबारदेखि थालेका छन् ।
इलामको रोङस्थित सानो पाथिभरा मन्दिरमा शुभसाइत पूजा गर्दै छायांकन सुरु भएको हो । निर्देशक अर्जुन सुवेदीका अनुसार फिल्मको सेड्युल ३१ दिनको हुनेछ । डेब्यु फिचर ‘रंगेली’पछि सुवेदीको यो दोस्रो निर्देशकीय प्रोजेक्ट हुनेछ । सपुतसहित फिल्ममा परिक्षा लिम्बु, सब्बु गुरुङ र सुन्दर धितालले मन्दिर परिसरमा फिल्मको पहिलो सट् दिए । यो फिल्मको छायांकन इलाम र भोजपुरका मनोहर ठाउँमा हुने जनाइएको छ । फिल्ममा विल्सनविक्रम राई, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुजन खतिवडाको पनि अभिनय हुनेछ । सपूतले ‘भीमसेन पोखरेल’ र लिम्बुले ‘दिलासा राई’को मुख्य भूमिका निर्वाह गर्ने घोषणा यसअघि नै भैसकेको छ ।
यो जोडी पहिलोपटक एकसाथ पर्दामा देखिन लागेको हो । फिल्मले समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावविरुद्धको कथा पेश गर्नेछ । दुई प्रमुख पात्रबीचको प्रेम कथा पनि यसको मुख्य आकर्षण रहनेछ । संगीत प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतले दिएका छन् । छायांकन सुसन प्रजापतिले गर्नेछन् । प्लानेट थ्री फिल्म्सको प्रस्तुति, नेपसिने र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बन्न लागेको यो फिल्मको निर्मातामा रेजिना बिस्ट र संसार चौलागाईँ छन् ।