काठमाडौं - चलचित्र ‘कार्साङ’ आजबाट हलमा रिलिज भएको छ । फ्राइडे रिलिज अन्तर्गत आजबाट ‘कार्साङ’ प्रदर्शनमा आएको हो ।
प्रिमियरमा उत्साहजनक प्रतिक्रिया पाएको चलचित्र धेरैका लागि अपेक्षितसमेत रहेको छ । शेर्पा समुदायको मौलिक कथा भन्ने चलचित्रले फरक स्वादको कथा पर्दामा उतारेको कलाकारहरूले बताएका थिए ।
अभावमा बाँचिरहेको व्यक्ति आफ्नौ गाउँ, समाज र आफन्तबाट कसरी तिरस्कृत हुन्छन् भन्ने यो चलचित्रले देखाएको छ । अभाव र दुःखमा बाँच्ने व्यक्तिलाई आफ्नो संस्कार जोगाउन कति कठिन छ भन्ने यो चलचित्रले देखाउने भन्दै यो बुझ्न र अनुभूत गर्न पनि ‘कार्साङ’ हेर्नुपर्ने प्रतिक्रिया प्रिमियरबाट आएको छ ।
‘कार्साङ’ यम शेर्पाले निर्देशन गरेको चलचित्र हो । चलचित्र ‘कार्साङ’मा दयाहाङ राई, सिर्जना निङलेखुसँगै जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायत कलाकारको अभिनय रहेको छ ।
यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो चलचित्रका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् । सह–निर्मातामा गोविन्द बोहरा छन् । कार्यकारी निर्माताको रूपमा आङछिरिङ शेर्पाले काम गरेका छन् ।
देशभरका हलमा यो चलचित्रले सन्तोषजक शो पाएको छ ।
यो पनि हेर्नुहोस्