काठमाडौँ– फागुन १४ गते अर्थात महाशिवरात्रिको अवसर पारेर प्रदर्शनको तयारीमा रहेको चलचित्र मायावीको नयाँ गीत ‘टल टल टल्कियो’ सार्वजनिक गरिएको छ । सोमबार साँझ निर्माण टिमले चलचित्रको नयाँ गीत सार्वजनिक गरेको हो ।
एसडी योगी र रेश्मा पुनको स्वरमा रहेको सार्वजनिक गीतमा अभिनेता पल शाह, अभिनेत्री दीपिका प्रसाईँ, करिष्मा श्रेष्ठ, सुशील सिटौला, प्रशान्त ताम्राकार, राजाराम पौडेललगायत चलचित्रमा अभिनय गर्ने अधिकांश कलाकारलाई देख्न सकिन्छ । राम अविरल विस्टले लेखेको गीतमा एसडी योगीकै सङ्गीत सुन्न सकिन्छ ।
सार्वजनिक गीतको भिडियोले दोधारमा परेका प्रेमी प्रेमिकाहरूको भाव बोल्ने प्रयास गरेको छ । कविराज गहतराजको कोरियोग्राफीमा तयार गीतको भिडियोलाई राजु विक्रम थापाले खिचेका हुन् ।
दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार यस चलचित्रलाई ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको निर्माता रहेका छन् भने कार्यकारी निर्मातामा प्रवीन भट्टराई र करन सिंह रहेका छन् ।
भिडियो