काठमाडौँ - रक्षक नै भक्षक भएपछि कसको के लाग्छ र ? नेपाल बैङ्कका अध्यक्ष डा. चन्द्र बहादुर अधिकारी त्यस्तै निस्किए । उनीमाथि ठुलो कर्जा प्रवाहमा कमिसन लिएको आरोप लागेको छ । ठुलो कर्जा प्रवाहमा सेटिङ गरी कमिसन लिएको आरोपमा अख्तियारले अनुसन्धान सुरु गरेको हो । उनीमाथि मात्रै हैन उनका सवारी चालक उमेश महर्जनको खातामा अस्वाभाविक रूपमा ठुलो रकमको कारोबार देखिएको छ ।
उनलाई पनि अख्तियारले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । महर्जनले बयान दिने क्रममा सम्पूर्ण कारोबार आफ्नो नभएको बताएका छन् । उनले आफ्नो खातामा भएको कारोबार अध्यक्ष अधिकारीको रहेको बयान दिएको भनाई छ ।
अध्यक्ष अधिकारीले भनेबमोजिम आफूले काम गरेको महर्जनले बताएका छन् । मैले अध्यक्ष सरले भने बमोजिम नै गरेको हो । सबै पैसा सरको भएको उनले बताए । महर्जनको खातामा भएको कारोबारको विश्वसनीय र वैधानिक श्रोत खुल्न सकेको छैन । यस्तोमा, अध्यक्ष अधिकारीमाथि झनै ठुलो शङ्का पैदा भएको छ ।
अधिकारीले कर्जा प्रवाह गर्दा कमिसन लिने गरेको आरोप छ । यस्तोमा महर्जन मार्फत कमिसन लिई कारोबार गर्ने गरेको आशङ्का छ ।
महर्जनको खातामा एकै पटक २५ देखि ३० लाख रुपैयाँसम्मको कारोबार गरेको भेटिएको छ । यति ठुलो रकम सवारी चालकको खातामा कारोबार देखिएपछि अध्यक्ष अधिकारीमाथि झनै ठुलो शङ्का गर्ने ठाउँ देखिएको हो । अख्तियारले चालक महर्जनको बयान लिएको थियो र अध्यक्ष अधिकारीलाई पनि निगरानीमा राखेको छ । अधिकारीको धर्मपथस्थित रहेको केन्द्रीय कार्यकक्षमा अख्तियारले सिल गरेको छ ।
अध्यक्ष अधिकारीले कर्जा प्रवाह गर्दा कमिसनका लागि बार्गेनिङ गर्दै समयमा काम नगर्ने गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो । उनीमाथि कर्जा प्रवाह गर्दा कमिसन नदिए ढिला सुस्ती गरिदिने, काम नगरिदिने लगायतका आरोप लागेका छन्। अधिकारी २०८० असोज १० गते अध्यक्षमा नियुक्त भएका थिए ।
काँग्रेस निकट मानिएका अधिकारीको नियुक्ति हुँदा अर्थमन्त्री प्रकाश शरण महत थिए । अर्कातिर अख्तियारले छानबिन गरिरहेका अध्यक्ष सँग मिलेर बैङ्कका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डे बैङ्कको रणनीतिक योजना र बजेटको धज्जी उडाउँदै नीति नियम विपरीत कार्य गर्न लागेको खुलासा हुने आएको छ । अध्यक्ष अख्तियारको निगरानीमा रहँदा पनि कार्यकारी अधिकृतले नियम विपरीत काम गर्ने गरेको श्रोतले बताएको छ । यस्तो गम्भीर विषयमा सम्बन्धित निकायको तत्काल ध्यान जान जरुरी छ ।
५१ प्रतिशत सरकारको स्वामित्व भएको र ४९ प्रतिशत सर्वसाधारणको स्वामित्व भएको बैङ्कले यस्ता मुद्दाहरूमा मुछिदा सर्वसाधारणको विश्वास गुम्न पुग्ने देखिन्छ । गलत प्रवृत्ति र भ्रष्टाचारका विभिन्न मुद्दाहरू बाहिर आइरहँदा एउटा इतिहास बोकेको बैङ्कमाथि जनताको विश्वास टुट्ने देखिन्छ ।