काठमाडौं -नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले नेपालको चिया निर्यातमा किसानले अनेकौं समस्या झेल्नुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले इलामको विशेषता सुनाउँदै त्यहाँका किसानले भोग्नुपरेको समस्याका विषयमा गम्भीर बन्न सरकारलाई आग्रह गरे । सुहाङ इलाम क्षेत्र नम्बर २ का जनप्रतिनिधि हुन् । गत उपनिर्वाचनबाट निर्वाचित भएर संसद् छिरेका नेम्वाङले इलाममा उत्पादित कृषिजन्य वस्तुबाट नेपाल सरकारको सिंगो अर्थतन्त्रलाई फाइदा पुग्ने पनि बताए । ‘कृषिको क्षेत्रमा धेरै सम्भावना र विशेषता बोकेको जिल्ला हो हाम्रो सुन्दर इलाम । जहाँ प्रशस्त चिया, अलैंची, छुर्पी, कुचोजस्ता वस्तुहरू उत्पादन हुन्छ । जसले नेपालको अर्थतन्त्रमा सकारात्मक भूमिका पनि खेलेका छन्,’ उनले इलामबारे सुनाए ।
लगत्तै उनले सम्भावना हुँदाहुँदै पनि नेपालले विश्वस्तरिय फोरमहरूमा कमजोर सहभागीता जनाउने गरेको पनि सुनाए ।‘इलामको चियाले थुप्रै विधामा प्रथम स्थान हासिल गर्न सकेको छ । प्रत्येक वर्ष अर्बौंको चिया निर्यात हुँदा त्यसैले धेरैलाई रोजगारी पनि दिएको छ,’ नेम्वाङले भने ।उनले चिया निर्यातमा समस्या रहेको भन्दै किसानहरू निराश भएको पनि बताए ।‘निर्यात गर्दा अनेकौं समस्या झेल्नुपर्दा उद्यमीहरू निकै निराश छन् । म यी सबै समस्याको समाधानका लागि सरकारको ध्यानाकर्षण गर्न चाहन्छु,’ नेम्वाङले भनेका छन् ।सरकारले ध्यान दिन हो भने नेपालले चियाबाट अझै धेरै फाइदा लिनसक्ने उनको भनाइ थियो ।
‘सरकारको ध्यान राम्रोसँग जाने हो भने नेपालले यसको तीन चार गुणा बढी फाइदा लिनसक्छ । विश्वप्रख्यात विश्व चिया फोरममा नेपालको सहभागीता कमजोर छ,’ नेम्वाङले भने, ‘निर्यात गर्दा अनेकौं समस्या झेल्नुपर्दा उद्यमीहरू निकै निराश छन् । म यी सबै समस्याको समाधानका लागि सरकारको ध्यानाकर्षण गर्न चाहन्छु ।’