काठमाडौं - फागुपूर्णिमाको अवसरमा, नयाँ फिल्म ‘आउटलः दफा २१९’ बिहीबारबाट प्रदर्शनमा आउने भएको छ।
यो फिल्मलाई विक्की महर्जनले निर्देशन गरेका हुन् भने, अमित अग्रहरी फिल्मका निर्माता हुन्। निर्देशक महर्जनका अनुसार, यो फिल्म निर्माण गर्नका लागि २ वर्षको समय र सबै टिमको कडा मेहनत लागेको छ। उनले भने, “यो फिल्ममा केवल एक्सन मात्रै होइन, एक्सनसँगै नेपालका महत्वपूर्ण विषयहरूलाई पनि उठान गरिएको छ। यसमा एक्सन, ड्रामा, कमेडी र थ्रीलर सबै मिश्रित छ। दर्शकलाई यस पटक धेरै सरप्राइजको सामना हुने छ, ट्रेलरमा भने सबै कुरा खोलिएको छैन ।” महर्जनले यो फिल्मको कथा काल्पनिक भएको र कुनै व्यक्तिको जीवनसँग मिल्दैन भन्ने दाबी गरे। उनले भने, “क्यारेक्टर ग्याङस्टारको छ, तर यो बदला र न्यायको कथा हो। यसको कथावस्तु निकै बलियो छ।”
फिल्मका निर्माता अमित अग्रहरीले पनि फिल्मको निर्माणमा सबैको सोच मिलेर यो परियोजना अघि बढेको बताए । उनले थपे, “यो फिल्मको विषयवस्तु निकै आवश्यक थियो र म विश्वास गर्दछु कि एक्सनमा यो फिल्मले नेपाली फिल्म उद्योगमा नयाँ बेन्चमार्क खडा गर्नेछ। मैले पैसा सोचेर फिल्म बनाएको होइन, नयाँ भिजन र नयाँ विषयवस्तुका कारण लगानी गरेको हुँ।” अग्रहरीले भने, “नेपालमा अहिले बनिरहेका फिल्महरूबाट यो फिल्म निकै फरक छ। हामीले एक्सन फिल्म त हेरेका छौं, तर त्यसमा फिल नै आएको थिएन । ‘आउटलः दफा २१९’ ले त्यो महशुस गराउँछ। दर्शकहरूले निकै राम्रो प्रतिक्रिया दिएका छन् । यदि यो फिल्मले अर्को फिल्म बनाउनका लागि पैसा उठायो भने, म खुशी हुनेछु।” फिल्मको मेकिङ, प्रस्तुति, एक्सन र कलाकारहरूको अभिनय विशेष चर्चामा छन्। नायक सुशील श्रेष्ठको नयाँ अवतारले दर्शकलाई आश्चर्यचकित बनाएको छ। यसैले, बक्स अफिसमा यो फिल्मले राम्रो कमाई गर्ने विश्वास गरिएको छ।