काठमाडौं -नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई संसद्मा सम्झिएका छन् ।
बुवासमेत रहेका सुवास नेम्वाङको आज जन्मदिन भएको जानकारी गराउँदै उनले श्रद्धासुमन व्यक्त गरे । ‘आज हामी सबैको नेता, संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको जन्मदिन । म उहाँलाई सम्झिएर श्रद्धासुमन व्यक्त गर्न चाहन्छु,’ नेम्वाङले बुधबारको प्रतिनिधिसभा बैठकमा भने । विसं २०८० भदौ २६ गते सुवासको हृदयघातबाट निधन भएपछि रिक्त इलाम क्षेत्र नम्बर २ मा उपनिर्वाचनबाट सुहाङ निर्वाचित भएका थिए । उनी अहिले एमालेबाट प्रतिनिधिसभामामा प्रतिनिधित्व गर्छन् ।सुहाङले बुवा सुवासलाई श्रद्धासुमन व्यक्त गर्दै इलामको कृषि बजारमा सम्भावना बोकेको छुर्पी व्यवसायको संकटबारे संसद्लाई जानकारी गराए ।
छुर्पीको बजारले देशको अर्थतन्त्रमा सकारात्मक भूमिका खेलेको जानकारी गराउँदै उनले वर्षेनी चार अर्ब माथि निर्यात हुने गरेको तथ्यांक भएको बताए ।‘तर, सम्भावना बोकेको वस्तु खासगरी अन्तर्राष्ट्रिय बजारमा भ्याटको अन्यौलताका कारण प्रतिस्पर्धामा समस्या हुने देखिएको छ,’ नेम्वाङले भने, ‘यसबाट छुर्पी किसान, उद्योगी, निर्यातकर्ता र राजस्व कार्यालयबीच अन्यौलता सिर्जना भएको छ ।’उनले नेपालबाट निर्यात हुने एकमात्रै दुधजन्य पदार्थको उत्पादनमा निराशा देखिएको भन्दै समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण पनि गराए ।‘नेपालबाट निर्यात हुने एकमात्रै दुधजन्य पदार्थको उत्पादनमा निराशापन देखिएकोले व्यवसायीमा संकट पैदा भइरहेको छ । म यो समस्याको उचित समाधान र सम्बोधनका लागि सम्बन्धित निकायको ध्यान आकृष्ट गर्न चाहन्छु,’ उनले भने ।