एसईईलाई मर्यादित बनाउन शिक्षामन्त्री भट्टराईको निर्देशन

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ४०९ दिन अगाडि
एसईईलाई मर्यादित बनाउन शिक्षामन्त्री भट्टराईको निर्देशन

 काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई व्यवस्थित, मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न निर्देशन दिएकी छन् ।

मधेश प्रदेशका शिक्षा विकास तथा समन्वय इकाइका प्रमुखहरूसँग भर्चुअल माध्यमबाट भएको बैठकमा मन्त्री भट्टराईले परीक्षा सञ्चालनमा कुनै पनि कमजोरी स्वीकार्य नहुने स्पष्ट पारिन् । मन्त्री भट्टराईले स्थानीय र प्रदेश सरकारसँग समन्वय र सहकार्यलाई विशेष जोड दिँदै परीक्षालाई सरकार र जनताप्रति जवाफदेही ढंगले सञ्चालन गर्न भनेकी छन् । नियमविपरीत कार्य गर्ने जो कोहीलाई पनि कठोर कारबाही गरिने चेतावनी दिँदै उनले परीक्षाको मर्यादा कायम राख्न नसके शिक्षा विकास तथा समन्वय इकाइका प्रमुखहरू समेत जिम्मेवार हुनुपर्ने बताएकी छन् ।

यस वर्षको एसईई परीक्षा ७ देखि १९ चैतसम्म देशभरका २ हजार ७९ परीक्षा केन्द्रमा एकैसाथ सञ्चालन हुने भएको छ । यस वर्ष ४९ हजार २८६ विद्यार्थी थपिएसँगै परीक्षामा सहभागी हुने विद्यार्थीको संख्या ५ लाख १४ हजार ७१ पुगेको छ ।परीक्षालाई थप समावेशी बनाउन यस वर्ष बाल सुधार गृह र कारागारमा समेत गरी तीनवटा विशेष परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी र अन्य पाठ्यक्रमका विषयहरूको परीक्षा हुनेछ भने चैत ८ गते नेपाली, चैत १० गते गणित, चैत १२ गते विज्ञान, १३ गते सामाजिक शिक्षा र बाँकी २ दिनमा ऐच्छिक विषयहरूको परीक्षा सञ्चालन हुनेछ ।

परीक्षाको गुणस्तर कायम राख्न र नक्कललाई निरुत्साहित गर्न मन्त्रालयले विशेष निगरानीको व्यवस्था गरेको छ। मन्त्री भट्टराईले सबै विद्यार्थीले न्यायोचित अवसर पाउनका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताउँदै परीक्षालाई सफलतापूर्वक सम्पन्न गर्न सबै सरोकारवाला निकायहरूको सहयोगको अपेक्षा गरेकी छन् । परीक्षाको सुरक्षा, सामग्री व्यवस्थापन र अन्य आवश्यक तयारी अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ।