काठमाडौं- अहिले प्रायः सम्पूर्ण सिनेमाहरुमा दर्शकको उल्लेख उपस्थितिसहित प्रदर्शन भैरहेको फिल्म ‘होस्टेल–३’ ले दर्शकमाझ पुनः फिल्मप्रति उत्साह बढाएको छ ।
फिल्मका प्रायः सबै कलाकारहरुको अभिनयको प्रशंसा भएता पनि फिल्मका प्रमुख पात्र पारस बम ठकुरी अथवा कुल ब्वाईको चर्चा भने अझ बढी छ । अहिले दर्शकहरु पारसलाई आफूमाझ पाउनासाथ अंकमाल गर्नेदेखि बोकेर उफार्ने जस्ता गतिविधि गरेर उनीप्रति प्रेम दर्शाइरहेका छन् । पारस पनि दर्शकको मायाले मख्ख पर्दै उनीहरुका तालमा ताल मिलाइदिन्छन् त कतै आँशु नै झारिदिन्छन् ।
यसरी डेब्यू फिल्मबाट नै लाखौँ दर्शकको मनमा बस्न सफल भएका पारसलाई भने अहिलेसम्म अर्को फिल्मको प्रस्ताव आएको छैन भन्ने कुरा आफैँमा आश्चर्यजनक रहेको छ । प्रायः अभिनेता अभिनेत्रीहरु दर्शकमाझ लोकप्रिय बन्दै जाँदा, फ्यान फलोइङ बढ्दै जाँदा डेब्यू फिल्म प्रदर्शनमा आउनु अगाडि नै अर्को फिल्ममा पनि साइन गरिसकेका हुन्छन्, तर पारसको हकमा भने यो कुरा लागू नभएको पाइएको छ ।आफूलाई अहिलेसम्म अर्को फिल्मका लागि प्रस्ताव नआएको कुरा पारस स्वयंले एउटा अन्तर्वार्तामा बताएका छन् । तर उनले फिल्मको प्रस्ताव आउनासाथ काम गरिनहाल्ने पनि बताएका छन् । उनले केहि समय अभिनय सिकेर मात्र राम्रो निर्देशकको निर्देशनमा काम गर्ने बताएका छन् ।
टिकटकबाट कुल ब्वाईको रुपमा परिचित भएका पारस अब अभिनेता बनिसकेका छन् । अब उनले खेल्ने नयाँ फिल्ममा उनीबाट दर्शकले थप अपेक्षा राख्ने नै छन् । त्यसैले कुल ब्वाईलाई अब गर्ने नयाँ फिल्म कुल भएर सोचेर मात्र गर्नाका लागि हाम्रो पनि सुझाव रहेको छ ।