काठमाडौँ उपत्यकाका ८ वटा आङ्गिक क्याम्पसमा भएन स्ववियु निर्वाचन

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ४४३ दिन अगाडि
काठमाडौँ उपत्यकाका ८ वटा आङ्गिक क्याम्पसमा भएन स्ववियु निर्वाचन

काठमाडौँ -काठमाडौँ उपत्यकाका ८ वटा आङ्गिक क्याम्पसहरूमा स्ववियु निर्वाचन स्थगित भएको छ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत उपत्यकाभित्रका २२ वटा आङ्गिक क्याम्पसहरूमध्ये ८ वटामा स्ववियु निर्वाचन रोकिएको हो । त्रिविले आजका लागि ६२ वटा आङ्गिक र अन्य सम्बन्धनप्राप्त कलेजहरूमा स्ववियु निर्वाचनको मिति तय गरेको थियो । तर, तालाबन्दीका कारण ति कलेजहरूमा निर्वाचन रोकिएको हो । रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) र अमृत साइन्स क्याम्पसमा अन्तिम समयमा आएर स्ववियु निर्वाचन स्थगित भएको हो । त्यस्तै सरस्वती क्याम्पस, विश्वभाषा क्याम्पस, नेपाल ल क्याम्पस, शंकरदेव क्याम्पस, त्रिचन्द्र क्याम्पस र पब्लिक युथ क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया यसअघि नै रोकिएको थियो । आरआर र अमृत साइन्समा भने हिजो मध्यरातदेखि तालाबन्दी भएपछि स्थगित भएको हो । 

आरआरमा एमाले निकट अनेरास्ववियु र एकीकृत समाजवादी निकट अनेरास्ववियूले तालाबन्दी गरेपछि अन्तिम समयमा आएर निर्वाचन स्थगित भएको छ । त्यस्तै अमृत साइन्स क्याम्पसमा भने अखिल क्रान्तिकारीले होस्टेलको विषयलाई लिएर विवाद सिर्जना गर्दै तालाबन्दी गरेपछि निर्वाचन स्थगित भएको हो । ति बाहेक सरस्वतीमा अनेरास्ववियू लगायतको तालाबन्दीका कारण निर्वाचन प्रक्रिया नै अगाडि बढ्न सकेको छैन् । त्यस्तै विश्वभाषामा समेत अखिल क्रान्तिकारीको तालाबन्दीका कारण निर्वाचन स्थगित भएको छ । नेपाल ल क्याम्पसमा अनेरास्ववियुको तालाबन्दी छ । जसले गर्दा निर्वाचन स्थगित भएको छ । 

शंकरदेवमा अखिल क्रान्तिकारी लगायतको तालाबन्दीका कारण चुनाव हुन सकेन । त्रिचन्द्र र पब्लिक युथ क्याम्पसमा नेविसंघको तालाबन्दीका कारण निर्वाचन हुन सकेन । त्यस्तै त्रिवि केन्द्रीय क्याम्पसमा ८ गतेका लागि निर्वाचन सरेको छ । पद्मकन्या क्याम्पस बागबजारमा समेत ७ गतेका लागि निर्वाचनको मिति तोकिएको छ ।  ति बाहेक थापाथलीइन्जिनियरिङ कलेज, सानोठिमी बहुमुखी क्याम्पस, आयुर्वेद क्याम्पस, जनप्रशासन क्याम्पस, महाराजगन्ज चिकित्सा क्याम्पस, महाराजगन्ज नर्सिङ क्याम्पस, नेपाल कर्मस क्याम्पस, पाटन बहुमुखी क्याम्पस, पुल्चोक इन्जिनियरिङ क्याम्पस, भक्तपुर बहुमुखी क्याम्पस, ललितकला क्याम्पस र महेन्द्ररत्न क्याम्पसमा निर्वाचन जारी रहेको छ ।