सरकारले गराइदियो ४६ पत्रकारको दुर्घटना बीमा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६१२ दिन अगाडि
सरकारले गराइदियो ४६ पत्रकारको दुर्घटना बीमा

काठमाडौँ -  सरकारले ४६ जना पत्रकारको निःशुल्क दुर्घटना बीमा गराइदिएको छ ।

पत्रकारहरूको दुर्घटना बीमा गराउने सरकारको कार्यक्रम अनुसार सूचना तथा प्रसारण विभागले यस वर्ष ४६ जना पत्रकारको ७ लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गराएको हो ।  आइतबार विभागकी निर्देशक पूर्णिमा उपाध्यायको अध्यक्षतामा पत्रकार दुर्घटना बीमा छानबिन तथा मूल्याङ्कन समितिको बैठक बसेर बिमाका लागि आवेदन दिएका ४६ जना पत्रकारको दुर्घटना बीमा गराउने निर्णय भएको विभागले जनाएको छ ।

निर्देशक उपाध्यायका अनुसार विभागले दुई पटक आवेदन माग गर्दा ४७ जनाले आवेदन दिएको र रित पुगेका ४६ जनाको दुर्घटना बीमा गरिएको जानकारी दिइन । उपाध्यायका अनुसार यो बिमा एक वर्षका लागि लागु हुनेछ । विभागले कार्तिक  तेस्रो साता पहिलो र माघ अन्तिममा दोस्रो पटक सूचना प्रकाशन गरेर पत्रकारहरूलाई आवेदन दिन आव्हान गरेको थियो । पहिलोपटक ३७ जनाले मात्रै आवेदन दिएपछि  दोस्रो पटक पुन: माग गर्दा ९ जनाले आवेदन दिएका थिए । 

 पत्रकारहरूको दुर्घटना बीमा गराउने सरकारी कार्यक्रम अनुसार विभागले वर्षेनी सूचना प्रकाशित गरेर आवेदन सङ्कलन गरी बीमा  गराईरहेपनि पत्रकारहरूको सहभागिता कम हुँदै गएको प्रति नेपाल पत्रकार महासंघले चिन्ता व्यक्त गरेको छ ।  'केही वर्ष अघि यही कार्यक्रम भित्र एक हजार पत्रकारको बीमा गरिएको थियो' महासंघका सचिव रमेश खतिवडाले भने - 'अहिले त्यो संख्या ४६ मा झर्नु दुखद हो ।' प्रदेशहरूमा प्रदेश सरकार र जिल्लाहरूमा स्थानीय तहले समेत पत्रकारहरूका लागि बीमा कार्यक्रम लागु गरेका कारण सहभागिता कम भएको खतिवडाले बताए । बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन सूचना विभाग र सञ्चार मन्त्रालयसँग छिट्टै छलफल गर्ने उनले बताए ।