लोकतान्त्रिक अपांग महासंघको अध्यक्षमा गगन थापानिकट चम्लागाईं विजयी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ४३६ दिन अगाडि
लोकतान्त्रिक अपांग महासंघको अध्यक्षमा गगन थापानिकट चम्लागाईं विजयी

 काठमाडाैँ -नेपाली कांग्रेसको भ्रातृ संस्था लोकतान्त्रिक अपांग संघको अध्यक्षमा माधवप्रसाद चम्लागाईं निर्वाचित भएका छन्।

गत शुक्रबार केन्द्रीय कार्यालय सानेपामा अधिवेशन भएको थियो। शुक्रबार नै मतदान भए पनि मतगणना ढिलाइ भएको थियो।सभापति शेरबहादुर देउवाको निर्देशनपछि सोमबार मतगणना गरिएको थियो।चम्लागाईं ३५१ मत ल्याएर अध्यक्ष निर्वाचित भएका हुन्। अध्यक्ष पदका अर्का उम्मेदवार विकास थापाले ८८ र कल्पना खड्काले १३ मत प्राप्त गरेकी छन्। विकास थापा नेता शेखर कोइरालानिकट हुन् भने कल्पना खड्का प्रवक्ता प्रकाशशरण महतनिकट हुन्।

अध्यक्षमा निर्वाचित भएका चम्लागाईं महामन्त्री गगन थापा र केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीनिकट हुन्। चम्लागाईंलाई सभापति शेरबहादुर देउवा पक्षका केही नेताहरूको पनि साथ थियो। महाधिवेशनमा ४७० मत खसेको थियो। उपाध्यक्ष र महामन्त्री पदमा पनि चम्लागाईं समूहकै उम्मेदवार निर्वाचित भएका छन्। उनको समूहबाट उपाध्यक्ष उम्मेदवार बनेका उदयबहादुर लिम्बुले ३३२ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्। यस्तै उपाध्यक्षमा नै अनिता घिमिरे गैह्रे निर्वाचित भइन्। उनले ३३९ मत प्राप्त गरेकी हुन्। यस्तै महामन्त्रीमा गणेशबहादुर खत्री र किरण पासवान निर्वाचित भएका छन्। खत्रीले ३४९ मत प्राप्त गर्दा पासवानले ३५५ मत पाएर निर्वाचित भएका हुन्।