सोच ३७ को भएको कारण अभिनयमा अझै जोस छ - हरिवंश आचार्य

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ५८७ दिन अगाडि
सोच ३७ को भएको कारण अभिनयमा अझै जोस छ - हरिवंश आचार्य

काठमाडौँ - अभिनेता हरिवंश आचार्यले अभिनय समय आफ्नो उमेर सधैँ ३७ सोच्ने बताएका छन् ।

आफ्नो उमेर ६७ भएपनि सोच ३७ को भएको कारण अभिनयमा अझै जोस हुने गरेको उनको धारणा रहेको थियो । मंगलबार सम्पन्न तेस्रो ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’मा ‘सिमली छायामा बसी शीर्षक’को छलफलमा हरिवंशले कलाकार बिजयबरासँग आफ्नो रङ्गमञ्च र सिनेमाका नयाँ पुराना सन्दर्भको चर्चा गरे । यो महोत्सवको अन्तिम सेसन समेत थियो । ‘मानसिक रूपमा स्वस्थ राख्न म नकारात्मक कुरालाई टेबलटेनिसको बललाई हिर्काएजस्तै गरी प्याट्ट अर्कोतिर फाल्छु’, हरिवंशले भने ‘आध्यात्मिक रूपमा पनि ध्यान अभ्यासले फाइदा पुगेको छ ।’ उनले आफूलाई शारीरिक रूपमा स्वस्थ राख्न अनुशासित भएर सामान्य कसरत गर्ने गरेको सुनाए ।

 चरित्र निर्वाह गर्ने क्रममा कहिले युवा त कहिले वृद्ध बन्नुपर्ने भएकोले आवश्यकताअनुसार डेन्टिङ पेन्टिङ पनि गर्ने बताए । मण्डला थिएटरको आँगनमा उनले आफूले पहिलो पटक राष्ट्रिय नाचघरमा नाटक गर्दाको क्षण स्मरण गर्दै आफ्ना गुरुहरू जितेन्द्र महत अभिलाषी र हरिप्रसाद रिमाललाई सम्झिए । 

हास्य व्यङ्ग्य, प्रहसन र नाटकमा धेरै फरक छैन भन्दै उनले आफू सधैँ नाटकको नजिक रहेकोमा जोड दिए । कार्यक्रममा आफू नाटकको पृष्ठभूमिबाट आएकोले नै जग बलियो भएको तर्क गर्दै उनले अहिलेको सिनेमा क्षेत्र नै थिएटरका कलाकारले नेतृत्व गरेको तर्क गरे ।त्यस्तै ‘पूर्णबहादुरको सारङ्गी’पछि चर्चाको शिखरमा पुगेका विजयले हरिवंशलाई सफल कलाकारले आफूलाई सफलताको विन्दुमा टिकाइराख्न कत्तिको सहज हुन्छ वा तनाव हुन्छ ? प्रश्न राखेका थिए ।  जवाफमा उनले भने, ‘उमेर र अनुभव यति धेरै भइसक्यो तर मलाई हरेक पटक शोमा जानुभन्दा अगाडि मुटु ढुकढुक भइरहेको हुन्छ । दुई तीन पल्ट ट्वाइलेट पनि जान्छु । मनमा एक किसिमको डर उत्पन्न भइरहेको हुन्छ ।’ उक्त अवसरमा  हरिवंशले आफ्नो आगामी फिल्म ‘भूठान’मा काम गर्दाको प्रसङ्ग पनि सुनाएका थिए ।