काठमाडौँ- सभामुख देवराज घिमिरे विभिन्न ५ राजनीतिका दलका नेताहरूसँग संवादमा छन् ।
प्रतिनिधि सभाको बैठकमा अवरोध भएपछि खुलाउन उनले नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेतासँग संवाद गरिरहेका हुन् । नयाँ वानेश्वरस्थित सभामुखको कार्यकक्षमा ५ दलका प्रमुख सचेतकहरू छलफलमा छन् । बिहान ११ बजे बोलाइएको बैठक केही ढिलो गरी सुरु भएको थियो । बैठक सुरु भएलगत्तै विपक्षी दलहरूको विरोधका कारण सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गरेर संवाद सुरु गरेका हुन् । विपक्षी दलहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाइ हटाएकोबारे प्रधानमन्त्रीको जवाफ मागेका छन् ।
प्रधानमन्त्रीको जवाफ नआएसम्म सदन चल्न नदिने उनीहरूको अडान छ ।तर, सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीलाई जवाफ दिनका लागि सूचना दिनुपर्ने भनेर बुधबारको बैठक चलाउने वातावरणका लागि आग्रह गरिरहेका छन् ।