तिनकुनेबाट सुटुक्क भागे दुर्गा प्रसाईं

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ५७५ दिन अगाडि
तिनकुनेबाट सुटुक्क  भागे दुर्गा प्रसाईं

काठमाडौं -राजसंस्था पुनस्र्थापना आन्दोलनका कमान्डर दुर्गा प्रसाई एक निजी गाडीमा चढेर तीनकुनेबाट भागेका छन् । 

त्यसअघि तीनकुनेको एक सटरमा बसिरहेका उनलाई लिन गाडी आएको थियो । उनी बीएबी ४२०८ नम्बरको गाडीमा बसेर तीनकुनेबाट निस्किएका हुन् । तीनकुनेमा राजावादी प्रदर्शनकारी अराजक बन्दै जाँदा सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेको छ । 

तीनकुने क्षेत्रमा दुई पक्षीय झडप भइरहँदा राजावादी नेतृत्व तहका नेताहरु आन्दोलनको मैदानबाट अन्यत्र लागेका हुन् । राजावादी कार्यकर्ताहरु प्रहरीसँग झपडमा उत्रिन थालेसँगै उनीहरु अन्यत्र लागेका हुन् । 

प्रदर्शनस्थलमा राजावादी संयुक्त आन्दोलनका संयोजक नवराज सुवेदीसहितका नेताहरु पुग्ने भनिएको थियो । यस्तै विरोध सभा गर्न बनाइएको मञ्चमै राप्रपाका नेता प्रकाशचन्द्र लोहनी, धवलशमशेर राणासहित दुर्गा प्रसाई र अन्य राजावादी नेताहरु पुगेका थिए ।

उनीहरुले सम्बोधन गर्ने तय भएपन एकाएक झडप भएसँगै कार्यक्रम बिथोलियो । यससँगै स्थितिलाई सहज बनाउन भूमिका खेल्नुपर्ने भएपनि राजावादी नेतृत्व तयहका नेताहरुले मैदान छाडे । त्यसपछि आन्दोलनकारी नेतृत्वहीन बन्न पुगेर झडप थप उग्र बन्न पुगेको एक प्रत्यक्षदर्शीले बताए । 


सोही कारण प्रदर्शन हिंसात्मक बन्न पुग्यो । प्रदर्शनकारी तोडफोडमा उत्रिएका छन् भने प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली समेत चलाउनुपरेको छ । 

यसैबीच संयुक्त आन्दोलनका कमाण्डर समेत रहेका प्रसाईले संयमित बन्न केहीबेर अघि फेसबुकमार्फत आह्वान गरेका छन् । उनले निजी सम्पत्तिमा क्षति नपुर्याउन पनि आग्रह गरेका छ्न् । ‘ प्रहरीकै दमनका कारण निजी सम्पत्तीमा क्षति पुग्यो, कैयन साथीहरु र प्रहरीहरु घाईते हुनुभएको छ ।  यस प्रति दुख व्यक्त गर्दै घाईते साथीहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । साथै कसैको निजी सम्पत्तीमा आक्रमण नगर्न म हार्दिक अपिल समेत गर्दछु’, प्रसाईको भनाइ छ ।