चलचित्र'हेल्लो काँशीराम' सेन्सर पास

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ५८२ दिन अगाडि
चलचित्र'हेल्लो काँशीराम' सेन्सर पास

काठमाडौँ - रिमा विश्वकर्माको लेखन तथा निर्देशन रहेको फिल्म ‘हेल्लो काँशीराम’ सेन्सर पास भएको छ ।

आगामी जेठ २ गतेबाट देशभर प्रदर्शनमा आएको फिल्मलाई केन्द्रीय जाँच पास समिति (सेन्सर बोर्ड) ले युनिभर्सल सर्टिफिकेट (सबैले हेर्न मिल्ने) दिँदै प्रदर्शनका लागि पास गरेको हो । शनिबार भएको सेन्सरमा फिल्मले उत्कृष्ट प्रतिक्रिया समेत पाएको निर्देशक विश्वकर्माले जानकारी दिए । कमेडी शैलीमा निर्माण भएको फिल्म भित्रको कथाको रहस्य भने दर्शकले प्रदर्शन भएपछि थाहा पाउनेछन् । ‘सेन्सर बोर्डका सदस्यहरूले समग्रमा फिल्मलाई राम्रो रेटिङ दिनुभयो । यसले निकै खुसी बनाएको छ’ निर्देशक विश्वकर्माले भने । रेडलाइन फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको यस फिल्मको लेखन समेत निर्देशन विश्वकर्माको हो ।

फिल्मलाई पीबी थापाले बनाएका हुन् । इम आलेले खिचेको फिल्मको लगानी डेढ करोड पुगेको बुझिएको छ । फिल्मलाई मित्र डी.गुरुङले सम्पादन तथा रङ्ग संयोजन गरेका छन् । फिल्ममा दिलीप रायमाझीसँगै वरिष्ठ कलाकारहरू सुरवीर पण्डित, रामचन्द्र अधिकारी, सुशील पोखरेल देखिने छन् । त्यस्तै, हालका चर्चित हास्य कलाकार उमेर राई (फुलन्देको आमा), भगेरी डन, नवज्योति रसाइली, सुमन खाँण, अजय न्यौपाने, सरोज केसी, उमेश मायालु, विवेश पुरी लगायतका कलाकारहरु पनि फिल्ममा देख्न पाइनेछ। यस फिल्ममा चर्चित अभिनेत्री प्रियंका कार्कीको समेत विशेष भूमिका रहेको निर्माण टिमले जनाएको छ ।

फिल्मको नृत्य निर्देशन कविराज गहतराजले गरेका हुन् । द्वन्द्व निर्देशन शङ्कर महर्जनले गरेका छन् भने सङ्गीत संयोजन नरेन्द्र वियोगी र विपिन आचार्यले गरेका छन् । निर्देशक विश्वकर्माले यसअघि ‘नेपाली वीर’, ‘सम्झिराख है’, ‘रेलिमाई’ लगायतका फिल्महरू निर्देशन गरिसकेका छन्, उनका फिल्महरूले नेपाली मौलिक कथावस्तु, समाजका वास्तविकता प्रस्तुत गर्ने गरेका छन् ।