रास्वपा नेतालाई एमाले महासचिवको कटाक्ष: पुर्जी काट्ने रीति रवि गृहमन्त्री हुँदा के थियो?

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ३८३ दिन अगाडि
रास्वपा नेतालाई एमाले महासचिवको कटाक्ष: पुर्जी काट्ने रीति रवि गृहमन्त्री हुँदा के थियो?

काठमाडाैँ -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूले अदालतको आदेशलगत्तै प्रहरीले पक्राउ पुर्जी जारी नगरी आफ्ना सभापति रवि लामिछानेलाई गिरफ्तार गरेको भनी आलोचना गरिहेका बेला सरकार नेतृत्वकर्ता दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले भने व्यंग्य गरेका छन्।

उनले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया गिरफ्तार गर्दाको घटनालाई संकेत गर्दै महासचिव पोखरेलले प्रहरीले पक्राउ पुर्जी काट्ने 'रिति र थिति' रवि गृहमन्त्री भएका बेला कस्तो थियो भनी रास्वपा नेताहरूलाई कटाक्ष गरेका हुन्। 

शनिबार बिहान पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रहरीको पुर्जी काट्ने 'रिति र थिति' रविजी गृहमन्त्री हुँदाको अवस्थामा के थियो भन्ने रास्वपाका नेताहरूलाई 'थाहा' नहुने कुरै भएन। तर पनि 'सुधार'को खोजी यस्तै बेलामा हुने त हो नि!’ यो कुरालाई एमालेकै केन्द्रीय सदस्य विष्णु रिजालले अझ प्रस्ट रूपमा भनेका छन्। उनले पनि सामाजिक सञ्जालमै लेखेका छन्, ‘कैलाश सिरोहियालाई बिनाकारण (पछि प्रहरीले मुद्दा चलाउनै सकेन) रातारात जनकपुर लैजाँदा प्रहरीलाई आदेश दिने रविजी गृहमन्त्री हुनुहुन्थ्यो। अहिले त रविजीलाई थुनामा पठाउने अदालतको आदेश छ। प्रहरीले त्यही आदेश तामेल गर्दा उल्टै आलोचना!’