उपप्रमुख डंगोल बेल्जियम जाँदै, यस्तो छ कार्यतालिका

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ५९९ दिन अगाडि
उपप्रमुख डंगोल बेल्जियम जाँदै, यस्तो छ कार्यतालिका

काठमाडौँ -काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल युरोपियन युनियनको निमन्त्रणामा आज बेल्जियम प्रस्थान गर्दै छिन् ।

युरोपियन युनियनले अघि बढाएका असल अभ्यासहरूबारे जानकारी दिने र काठमाडौँ महानगरपालिकाले अघि बढाएका असल अभ्यासबारे पनि जानकारी लिने उद्देश्यले डंगोललाई युरोपियन युनियनले बेल्जियममा आमन्त्रण गरेको हो । 

उपप्रमुख डंगोलले त्यहाँ सहरी विकासकामा गरेका प्रगतिबारे विभिन्न स्थानहरूको अध्ययन भ्रमण गर्ने कार्यतालिका छ । उपप्रमुख डंगोल बेल्जियमपछि अदालतको अवलोकन भ्रमणका लागि लक्जेम्बर्ग जाने कार्यक्रम छ ।त्यहाँ पनि उनले युरोपियन युनियनको अभ्याससँगै त्यहाँको विवाद निरूपणका लागि भएका र गरेका प्रयासहरूका बारेमा अनुभव लिने कार्यक्रम छ ।

भ्रमणकै सिलसिलामा त्यहाँको स्थानीय सरकारसँग पनि विभिन्न विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ ।‘बेल्जियमको अवलोकन भ्रमणका क्रममा त्यहाँको संसद्को पनि अवलोकन गर्ने र काठमाडौँ महानगरपालिकाले गरेका असल अभ्यासबारे अनुभव आदानप्रदान गर्ने कार्यक्रम छ,’ डंगोलले भनिन्, ‘यो भ्रमणका क्रममा  त्यहाँका सरकारका प्रतिनिधि, सांसद, स्थानीय तहका जनप्रतिनिधिहरूसँग औपचारिक भेटघाटको कार्यक्रम छ ।’

  बेल्जियममै युनेस्कोसँग त्यहाँका सम्पदा र काठमाडौँ महानगरपालिकाका सम्पदा संरक्षणका लागि गरेका प्रयासहरूका बारेमा अनुभव आदानप्रदान गर्ने कार्यक्रम रहेको पनि उनले जानकारी दिइन्  ‘काठमाडौँ महानगर युनेस्को क्रिएटिभ सिटी पनि हो,’ उनले भनिन्, ‘त्यहाँ नेपाली कला, सभ्यता, संस्कृति, मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदाहरूको संरक्षण, संवर्द्धन र प्रवर्द्धनबारे गहन छलफल गर्ने तयारी छ। कला, संस्कृति र नवीन उद्योगसम्बन्धी नीति तयार गरी ‘स्क्रिन पर्यटन’ को सम्भावनालाई समेत साकार बनाउन के–कस्तो पहल गर्न सकिन्छ त्योबारेमा पनि म भ्रमणका क्रममा छलफल गर्ने छु ।’