काठमाडौँ - फिल्म ‘कुस्ती’को इन्डक्ल्याप गरिएको छ । काठमाडौँ तथा आसपासका क्षेत्रमा छायाङन भएको फिल्म ३९ औँ दिनमा गीत बाहेकका दृश्य सकेर ‘इन्डक्ल्याप’ गरिएको हो ।
फिल्मका निर्माता तथा निर्देशक अनिल योञ्जन हुन् । प्रेम गरेता पनि स्वभाव भिन्नताले एकसाथ रहन सङ्घर्ष गर्न बाध्य जोडीको कथालाई फिल्मले उठाएको निर्देशक योञ्जनले बताए । ‘कुस्ती एक अर्कासँग छुट्टिएर बस्न नसक्ने र सँगै रहन पनि नसक्ने मनका भावनाहरूको मधुर यात्रा हो’, निर्देशक योञ्जनले भने ‘भावनात्मकतासँगै हास्यरसले भरिएको यो फिल्म प्रेम कथानक कमेडी ड्रामा हो ।’ सहरको कथा भएकाले काठमाडौँ आसपासमा छायाङन गरिएको निर्देशक योञ्जन बताउछन् ।
फिल्ममा धीरज मगर, मिरुना मगर, पुस्कर गुरुङ, लुनिभा तुलाधर, भोलाराज सापकोटा, दीकिला शेर्पा, रवीन्द्र झा, पुस्कर गुरुङ, राजाराम पौडेल, किरण केसी, लुनिभा तुलाधर, सूर्यमान लिम्बू, अरविन गुरुङ, रजनी गुरुङ, सुवर्ण थापा लगायतका कलाकारले अभिनय गरेका छन् । एमटीभीको चर्चित भारतीय रियालिटी शो ‘स्प्लिट्सभिल्ला’ सिजन ५ बाट चिनिएकी दिकिला शेर्पाको यो डेब्यु नेपाली फिल्म हो । फिल्ममा उमङ्ग शाहीको छायाँकन, मित्रदेव गुरुङको सम्पादन, दीपक शर्मा, अनिल योञ्जन, कल्याण सिंहको संगीत, शिशिर खातीको नृत्य निर्देशन छ । डिजिटल पार्टनरको रुपमा ओएसआर डिजिटल रहेको फिल्ममा ड्रेस आइआइएफटी ९धीरज एण्ड मिरुना० र बोमी राईले स्टाइलिस गरेका छन् । काठमाडौँ रीच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट तथा मोफसल एफडी कम्पनीले फिल्मको वितरण जिम्मा लिएका छन् । फिल्म २०८२ को भदौमा प्रदर्शन हुनेछ ।