दुई चार जना सडकछापहरूले फर्काउँछौं भन्दा पूर्वराजा फुर्केर हात हल्लाउँदै हिँडे: प्रधानमन्त्री

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ५५९ दिन अगाडि
दुई चार जना सडकछापहरूले फर्काउँछौं भन्दा पूर्वराजा फुर्केर हात हल्लाउँदै हिँडे: प्रधानमन्त्री

काठमाडाैँ -प्रधानमन्त्री केपी शर्मा ओलीले 'सडकछाप'हरूले फर्काउँछौं भन्दा पूर्वराजा ज्ञानेन्द्र शाह उल्किएर हात हल्लाउँदै हिँडेको बताएका छन्। 

शनिबार झापाको दमकमा आयोजित जनजागरण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अस्थिर राजनीतिको फाइदा उठाउनेहरूले भनेको भरमा पूर्वराजा गाडीको हुटमा बसेर हात हल्लाउँदै हिँडेको बताएका हुन्। 'बैंक डुबाउनेहरू आफूले खाएको ऋण तिर्दिन भनेर अभियान सञ्चालन गरेर हिँड्नेहरू, जनताका समस्यामा सरोकार नभएका तर जनतालाई भड्काएर आफ्नो दुनो सोझ्याउन खोज्नेहरू यही मौका पारेर जनताले मिल्काएर रछ्यानमा पुगिसकेको राजतन्त्र फेरि फर्काएर ल्याउँछु भन्नेहरू सल्बलाए,' उनले भने। 'उल्किन कति सकेको दुई चार सडकछाप मान्छेहरू राजा फर्काउँछौं भन्दा फुरूक्क परेर फेरि गाडी हुटमाथि चढेर हात हल्लाउँदै हिँडेको सबै देखियो,' प्रधानमन्त्री ओलीले अगाडि भने।

उनले त्यस्तो गतिविधि गर्ने कस्ता तत्व हुन् भन्ने कुरा चैत १५ गते तीनकुनेमा देखिएको बताए। 'तीनकुनेमा शान्तिपूर्ण सभा गर्छौं भनेको के को सभा गर्थे आगजनी तोडफोड ढुंगामुडा गर्दै उद्योगधन्दाहरूमा आगो लगाउँदै अरूका पसल लुट्दै क्रान्ति गर्ने खुब ठूला परिवर्तन ल्याउने त रक्सीका बोत्तल भाग्दै गरेको देखियो। स्याउ चोरेर भाग्दै गरेका। औषधी कारखाना आगजनी गर्दै गरेका। यस्ताले बनाउँछन् देश?,' उनले भने। प्रधानमन्त्री ओलीले राजा फर्किएपछि तीनै रक्सीका बोतल बोकेर भाग्ने, स्याउ चोरेर हिँड्ने र आगजनी गर्नेहरु नै मन्त्री बन्ने हो भनी प्रश्न गरे।   "राजा फर्काएपछि ती प्रधानमन्त्री, मन्त्री बन्ने? तिनीहरूलाई भन्दा त पशुपतिका बाँदरलाई मन्त्री बनायो भने राम्रो हुन्छ,' उनले भने।