काठमाडाैँ -सधैँ चर्चामा रहने सुर्खेत उद्योग वाणिज्य सङ्घका यो पटक पनि लफडा भएको छ । नेकपा एमाले निकट उम्मेदवारहरूले सहकार्यका नाममा धोका भएको भन्दै उम्मेदवारी फिर्ता लिएका छन् । सुर्खेत उद्योग वाणिज्य सङ्घको चुनाव वैशाख ६ गते हुँदैछ ।
अध्यक्ष पदमा सबै समुहको सहमतिले नेपाली कांग्रेस निकट हर्षविक्रम खड्का सर्वसम्मत तरिकाले निर्वाचित भइसकेका छन् । सहमतिका जाने भनेकाले एमाले निकट व्यवसायीहरूले अध्यक्ष पदमा उम्मेदवारी समेत दिएनन् । तर अन्तिम अवस्थामा आउँदा नेतृत्व तहबाट सहमति र सहकार्यका नाममा गरिएको वाचा बारम्बार तोडिएको भन्दै एमाले निकट व्यावसायीहरुले उम्मेदवारी फिर्ता लिएका छन् ।
साथै उनीहरूले चुनावमा समेत भाग नलिने प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन् । उम्मेदवारी फिर्ता लिनेमा पाँच जना पदाधिकारी र बाँकी ६ जना सदस्य गरी ११ जना रहेका छन् । उनीहरूले प्रमुख ५ वटा एजेन्डा उठाएका छन् । मेला महोत्सवमा आर्थिक अपारदर्शिता, विधान संशोधन कार्यान्वयन नगरिएको, सङ्घलाई राजनीतिकरण गरिएको, सहकार्यका नाममा धोका र व्यावसायिक समस्या भन्दा स्टन्डबाजीमा केन्द्रित प्रवृत्ति हाबी भएको आरोप उनीहरूको छ ।