काठमाडौँ -नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थाइल्यान्ड जाने भएका छन् । देउवा निकट स्रोतका अनुसार पूर्वप्रधानमन्त्री समेत रहेका देउवा आइतबार राति आँखाको उपचारका लागि बैंकक जान लागेका हुन् । त्यहाँ रहँदा उनले राजनीतिक भेटघाट समेत गर्न सक्ने बताइएको छ । तर कांग्रेसका मुख्यसचिव कृष्ण पौडेलले सभापति देउवा उपचारका लागि मात्र थाइल्यान्ड जान लागेको दाबी गरे ।
‘आँखाको फलोअप उपचारका लागि उहाँ आज राति १२ बजे राति थाइल्याण्डको राजधानी बैंक प्रस्थान गर्ने कार्यक्रम छ’, नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव पौडेलको भनाई छ मुलुकको राजनीतिक अवस्था तरल भएका बेला प्रमुख सत्ता साझेदार दलका नेता देउवा थाइल्यान्ड जान लाग्नुलाई अर्थपूर्ण हेरिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारसँग कांग्रेसकै कतिपय नेताहरूले असन्तुष्टि जनाइरहेको अवस्था छ । अर्कोतिर राजावादी आन्दोलन र शिक्षक आन्दोलन समेत जारी रहेका बेला देउवा बैंकक यात्रामा निस्कन लागेका हुन् । आजै देउवा पत्नी समेत रहेकी परराष्ट्रमन्त्री आरजु देउवा राणा समेत बैंकक जाँदै छन् ।
२१ देखि २५ अप्रिलसम्म बैंककमा आयोजना हुने संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युनाइटेड नेसन्स् इकोनोमिक एन्ड सोसियल कमिसन फर एसिया एन्ड द प्यासिफिक, युएनस्केप) को ८१औँ सत्रमा सहभागी हुन आरजु त्यसतर्फ जान लागेकी हुन् ।
हाल नेपाल युएनस्केपको अध्यक्ष छ । मन्त्री डा राणाले युएनस्केपको ८१औँ सत्रको अध्यक्षता गर्ने र उक्त सत्रलाई नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ । यस सत्रको विषयवस्तु एसिया तथा प्रशान्त क्षेत्रमा दिगो सहरी विकासका लागि क्षेत्रीय सहयोग रहेको छ । उक्त सत्रमा मन्त्री डा। राणाको नेतृत्वमा परराष्ट्र मन्त्रालय, राष्ट्रिय योजना आयोग र थाइल्यान्डस्थित नेपाली दूतावासका अधिकारीहरू सम्मिलित नेपाली प्रतिनिधिमण्डल सहभागी हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।