रसुवामा गरियो चलचित्र महोत्सव, जितु र केकीलाई उत्कृष्ट अभिनेता-अभिनेत्रीको अवार्ड

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ३६७ दिन अगाडि
रसुवामा गरियो चलचित्र महोत्सव, जितु र केकीलाई उत्कृष्ट अभिनेता-अभिनेत्रीको अवार्ड

काठमाडाैँ -चौंथो संस्करणको 'नेपाल ग्रामीण चलचित्र महोत्सव' मा विभिन्न २२ वटा फिल्महरू प्रदर्शन भएका छन्। गत बिहीबारदेखि शनिबारसम्म रसुवाको गोसाइकुण्ड गाउँपालिकामा महोत्सव भएको हो।  महोत्सवमा फिल्म 'ज्वाइँ साब' बाट जितु नेपाल उत्कृष्ट अभिनेता घोषित भए भने 'बोक्सीको घर' बाट केकी अधिकारीले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन्। 

उत्कृष्ट अभिनेतामा जुरीतर्फको अवार्ड फिल्म 'पुजार सार्की' बाट अभिनेता प्रदीप खड्कालाई दिइयो भने उत्कृष्ट म्युजिकल सर्ट फिल्म अवार्ड 'प्याकुली' का रामहरि खड्का, उत्कृष्ट कल्चर फिल्म 'आप्लेगा नाम्सा' ले र प्रोत्साहन अवार्ड 'प्याकुली' बाट रोनिश खड्काले पाएउत्कृष्ट सर्ट फिल्म 'म कमरेड' बाट निर्मल पौडेल, उत्कृष्ट डकुमेन्ट्री 'माझी' बाट सबिर श्रेष्ठ, उत्कृष्ट फिल्म 'अञ्जिला' बाट प्रेम श्रेष्ठले अवार्ड जिते।

महोत्सवमा उत्कृष्ट सम्पादक भरत रेग्मी फिल्म 'पुजार सार्की',  छायांकन शिवराम श्रेष्ठ फिल्म 'बोक्सीको घर' र निर्देशकको अवार्ड 'अञ्जिला' बाट  मिलन चाम्सलाई दिइयो।  जुरी मेन्सन अवार्ड ऋषिराज आचार्यले फिल्म 'द्रौपदी' बाट पाए भने जुरी अवार्ड निर्देशक बसन्त निरौलो फिल्म 'ज्वाइँ साब' बाट हात पारे। उत्कृष्ट भिज्युअल इफेक्ट फिल्म 'बोक्सीको घर' बाट मनोज श्रेष्ठले जिते।सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङ, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी र गोसाईंकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङले विजेतालाई अवार्ड तथा प्रमाण पत्र वितरण गरे। महोत्सवको समापन ३० औं वन्यजन्तु सप्ताह, चौंथो गोसाईकुण्ड गाउँपालिका अध्यक्ष कप २०८२ तथा १३ औं रेडपाण्डा ट्रफी भलिबल प्रतियोगितासँग एकसाथ आयोजना भएको थियो। नेपाली महिला फुटबल टोलीको क्याप्टेन एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित 'अन्जिला' फिल्म प्रदर्शन गर्दै महोत्सव सुरू भएको थियो। पहिलो दिन बिहीबार 'अञ्जीला' सँगै 'पुजार सार्की', 'ज्वाइँ साब' र 'बोक्सीको घर' प्रदर्शन भएको थियो।

'आफ्नै गाउँ, आफ्नै ठाँउ, आफ्नै भाषा, आफ्नै चलचित्र' भन्ने नाराका साथ सेलीब्रेटी नेपालले नियमित रूपमा महोत्सव आयोजना गर्दै आएको महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए। महोत्सवले गाउँ–गाउँमा फिल्म संस्कृतिको विकास गर्ने जानकारी दिए। कार्यक्रममा रेडियो रसुवाका पत्रकार दिपक लामालाई नगदसहित 'पत्रकारिता पुरस्कार' र 'लाज शरणम्' फिल्मका निर्माता नवीन श्रेष्ठलाई सम्मान प्रदान गरिएको थियो। महोत्सवले आउँदा वर्षमा पनि निरन्तरता पाउने महोत्सवका अध्यक्ष सापकोटाले बताए।