काठमाडौँ - भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले शिक्षा प्रणालीलाई प्रविधियुक्त र समायानुकुल बनाउन आवश्यक रहेको बताएका छन् ।
मन्त्रालय अन्तर्गतको निर्माण व्यवसाय प्रवर्द्धन शाखा मार्फत मङ्गलवार विभिन्न विद्यालयहरूलाई शैक्षिक सामाग्री हस्तान्तरण गर्दै उनले शैक्षिक प्रणाली र गुणस्तर सुधार सबैको दायित्व भएको पनि उल्लेख गरे।विश्व स्तरमा प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न विद्यालय तहदेखि बलियो जग बनाउनु पर्नेमा जोड दिँदै मन्त्री दाहालले सिप र प्रविधियुक्त शिक्षाले स्वदेशमानै स्वरोजगारी सिर्जनामा पनि सहयोग पुर्याउने विश्वास व्यक्त गरे । कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्मा लगायत मन्त्रालयका अधिकारीहरूको उपस्थिति रहेको थियो ।
शाखा मार्फत १३ सामुदायिक विद्यालय, एक क्याम्पस र एक सामाजिक संस्थालाई विभिन्न शैक्षिक तथा विद्युतीय सामाग्री वितरण गरिएको हो । शाखा प्रमुख प्रकाश आचार्यका अनुसार १० थान डिजिटल स्मार्ट बोर्ड, १४ थान कम्प्युटर र २ थान प्रिन्टर प्रदान गरिएको हो ।