शिक्षक महासंघले गर्‍यो आन्दोलनको समय हेरफेर

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ५४९ दिन अगाडि
शिक्षक महासंघले गर्‍यो आन्दोलनको समय हेरफेर

 काठमाडाैँ -नेपाल शिक्षक महासंघले काठमाडौंकेन्द्रित आन्दोलनको समय हेरफेर गरेको छ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले मंगलबार सूचना जारी गर्दै बुधबारदेखि आन्दोलनको समय परिवर्तन गरेका हुन्। महासंघले दिनहुँ बिहान ९ बजेदेखि आन्दोलन गर्दै आएकोमा बुधबारदेखि भने बिहान ११ बजेदेखि आन्दोलन सुरू हुनेछ।‘वैशाख १० गतेबाट आन्दोलनको समय बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म हुने कुरा जानकारी गराइन्छ,’ अध्यक्ष सुवेदीले भनेका छन् ।आन्दोलनको समय किन हेरफेर गरिएको हो उनले खुलाएका छैनन्।

यही वैशाख ११ गतेदेखि कक्षा १२ को परीक्षा सुरू हुँदैछ। शिक्षकहरू विद्यालय नफर्कने हो भने निजामती कर्मचारी खटाएर भए पनि परीक्षा गर्ने सरकारको तयारी छ। महासंघ अध्यक्ष सुवेदीले पनि शिक्षक र प्रधानाध्यापकहरूलाई राष्ट्रिय परीक्षा बोर्ड र जिल्ला प्रशासन कार्यालयबाट धम्कीसहित कक्षा १२ को परीक्षा प्रक्रियामा सहभागी हुन दबाब दिने कार्य भइरहेको भन्दै विज्ञप्ति जारी गरेका छन्। विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै महासंघको आह्वानमा देशभरका सामुदायिक विद्यालयका अधिकांश शिक्षकहरू चैत २० गतेदेखि काठमाडौंकेन्द्रित आन्दोलनमा छन्।