इलन मस्कले ट्रम्प प्रशासनमा कम समय बिताउने, टेस्लालाई बढी ध्यान दिने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ३६५ दिन अगाडि
इलन मस्कले ट्रम्प प्रशासनमा कम समय बिताउने, टेस्लालाई बढी ध्यान दिने

काठमाडाैँ -अमेरिकी कार निर्माता कम्पनी टेस्लाका मालिक इलन मस्कले ट्रम्प प्रशासनमा कम समय बिताउने बताएका छन्।

अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलका एक विश्लेषकसँग मंगलबार भएको कुराकानीमा मस्कले अब धेरै समय आफ्नो कम्पनी टेस्लालाई ध्यान दिने बताएका हुन्। यो वर्षको पहिलो त्रैमासिक विवरणअनुसार टेस्लाको नाफा ७१ प्रतिशत घटेपछि मस्कले अब आफ्नो ध्यान टेस्लामा बढी केन्द्रित हुने बताएका हुन्।उनले अब ट्रम्प प्रशासनमा साताको एक देखि दुई दिनमात्रै समय दिने बताएको वाल स्ट्रिट जर्नललाई उद्धृत गर्दै न्यूयोर्क टाइम्सले समाचार लेखेको छ।यो वर्षको पहिलो त्रैमासमा टेस्लालले ४० करोड ९० लाख डलरमात्रै आम्दानी भएको टेस्लाको रिपोर्ट सार्वजनिक गरेको थियो। अघिल्लो वर्षको पहिलो त्रैमासमा टेस्लाको आम्दानी १ अर्ब ४० करोड डलर थियो।  अघिल्लो वर्षको तुलनामा आम्दानी ह्वात्तै घटेको रिपोर्ट सार्वजनिक भएको दुई घन्टापछि वाल स्ट्रिट जर्नलसँगको कुराकानीमा मस्कले ट्रम्प प्रशासनमा कम समय बिताउने बताएका हुन्।ठूलो रकम खर्च गरेर ट्रम्पलाई दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा जिताएपछि ट्रम्पले ह्वाइट हाउसमा डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सी (डोज) सिर्जना गरी मस्कलाई त्यसको प्रमुख बनाएका थिए।

सरकारी खर्च कटौतीका लागि भनेर मस्ककै सल्लाहमा ट्रम्पले हजारौं कर्मचारी निकाल्नेदेखि संघीय अनुदानहरू रोक्ने निर्णय गरेका थिए। आप्रवासी नीतिदेखि ट्रम्प प्रशासनले गर्ने हरेक क्रियाकलापमा मस्कले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। सिनेटबाट अनुमोदन नभएको भन्दै डेमोक्र्याटिकसँगै रिपब्लिकन सांसदहरूले समेत मस्कको भूमिकाको विरोध जनाउँदै आएका छन्।ट्रम्पसँग निकट रहेर राजनीतिमा होमिएका कारण ठूलो आर्थिक नोक्सानी हुन थालेपछि इलन मस्कले मे महिनापछि डिपार्टमेन्ट अफ गभर्न्मेन्ट इफिसिएन्सी (डोज) छोड्ने संकेत यसअघि नै गरेका थिए।जनवरी २० मा दोस्रो कार्यकाल सुरू गरेका ट्रम्पले मस्कलाई डोज प्रमुख बनाउँदा खर्च कटौतीका लागि १३० दिनको सीमा तोकेका थिए। यसको मतलब उनको कार्यकाल मे महिनाको अन्त्यसम्ममा समाप्त हुन सक्ने पनि भनिएको थियो।

ट्रम्पले पनि आफ्ना मन्त्री र सल्लाहकारहरूलाई मे महिनापछि मस्कले डोज छाड्ने जानकारी गराएका थिए। डेमोक्र्याटिक पार्टीका ७० जना सांसदहरूले ट्रम्पलाई पत्र नै लेखेर मस्कलाई डोज प्रमुखबाट हटाउन आग्रह गरेका थिए।अमेरिकामा मस्क जस्ता विशेष सरकारी कर्मचारी भनेर नियुक्त गरिएका अधिकारीले १३० दिनभन्दा बढी काम गर्न नपाउने कानुनी प्रावधान छ। त्यसकारण पनि यो महिना पछि मस्क डोजमा रहिरहने सम्भावना कम रहेको आकलन गरिएको छ। यद्यपि मस्क आफैले भने ट्रम्प राष्ट्रपति रहुन्जेल आफू ह्वाइट हाउसमा रहने बताएको भनेर न्युयोर्क टाइम्सको समाचारमा उल्लेख छ।