५२ संवैधानिक नियुक्तिको सुनुवाइमा ‘ब्रेक’

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ४०६ दिन अगाडि
५२ संवैधानिक नियुक्तिको सुनुवाइमा ‘ब्रेक’

काठमाडौँ -आइतबारदेखि संवैधानिक इजलासमा दिनहुँ सुनुवाइ भइरहेको ५२ संवैधानिक नियुक्तिविरुद्धको रिटमाथिको सुनुवाइमा ब्रेक लाग्ने भएको छ ।

बुधवार सर्वोच्च अदालतमा संवैधानिक पदाधिकारी नियुक्ति विवादको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ । आज बेलुका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेकाले सुनुवाइमा ब्रेक लाग्ने भएको हो ।   सर्वोच्च प्रशासनका अनुसार उनी बुधवार बेलुका ७ः४० को उडानमार्फत अमेरिका प्रस्थान गर्दै छन् । यद्यपि उनको विदेश भ्रमणको उद्देश्य र कार्यतालिका भने सार्वजनिक हुन बाँकी छ । प्रधानन्यायाधीशको सचिवालयले बेलुकासम्म कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेको छ ।  विदेश भ्रमणअघि नै सुनुवाइ सकेर फैसला गर्नेगरी प्रधानन्यायाधीश राउतले दिनहुँ पेसी तोक्न लगाएका थिए । यसअघि बुधवार र शुक्रबार मात्रै संवैधानिक इजलास बस्ने गरेको र पेसी तोकेर बुधवार मात्रै नियुक्ति विरुद्धका ती रिटमाथि सुनुवाइ हुने गरेको थियो ।  तर, प्रधानन्यायाधीश राउतकै सक्रियतामा  आइतबारदेखि नियमित पेसी तोकेर सुनुवाइ भइरहेको थियो। बुधवार आठौँ दिनको सुनुवाइ भएको  छ । अब आगामी सुनुवाइ प्रधानन्यायाधीश विदेश भ्रमणबाट फर्किएपछि सुरु हुनेछ ।

प्रधानन्यायाधीश राउतसहितको संवैधानिक इजलासमा न्यायाधीशहरू सपना मल्ल प्रधान, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदी रहेका छन् । हालसम्म निवेदक र सरकारी वकिलको तर्फबाट बहस सकिएर मंगलबारदेखि ५२ संवैधानिक पदाधिकारीहरूका तर्फबाट कानुन व्यवसायीहरूले बहस सुरु गरेका छन् । ५२ पदाधिकारीका कानुन व्यवसायीहरूको बहस सकिएपछि निवेदकहरूका तर्फबाट जवाफी बहस सुरु हुनेछ ।  २०७७ माघ र २०७८ असारमा विभिन्न आयोगमा गरिएको नियुक्तिविरुद्ध परेका १५ रिटमाथि २०८१ माघ ३० गतेदेखि सुनुवाइ सुरु भएको थियो । माघ ३० यता संवैधानिक इजलासमा हेर्दाहेर्दैमा राखेर सुनुवाइ अघि बढेकोमा अघिल्लो बुधबारसम्म चारपटक सुनुवाइ भएको थियो ।